Saturday, July 16, 2022

JHARI: New Nepali Novel ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

 "झरी" Part 4

“ तँ मेरो स्कुल लाईफको बेस्ट फ्रेन्ट होस् र सधैँ मेरो बेस्ट फ्रेन्ड नै रहनेछस् । तेरो ठाँऊ अरु कसैले ओगट्ने छैन् ।

टुङ्, टुङ्, टुङ् ।

म्यासेन्जरको घन्टीले मलाई गहिरो सपनाबाट बिउझाईदियो ।

म्यासेन्जर हेरे, उहि सन्ध्या के.सी । स्कुल लाईफ रिलेटेड मिम पठाएकि रहिछ । लेखेकि थिई,   “यो मिम देखेपछि मलाई तरो याद आयो । अनि प्रिन्सिपल म्यामको त्यो कुटाई । तँलाई थाहा छ त्यो कुरा म्यामलाई कस्ले लगाएको भन्ने ?”



म सोच्थे त्यो सब काम यहि केटीको हो । तैपनि भने, “म बबुरोलाई के थाहा हुनु । मैले त आफ्नो मनको कुरा भनेको थिए, तर त्यो कुरा कसैलाई मन परेन होला ।”

“एउटा कुरा दिमागमा राख हेर केटा त्यो कुरा मैले कसैलाई भनेको छैन आजसम्म ।”

“खुबै होला ! मैले गएर म्यामलाई भनेको हो नि ‘सन्ध्यालाई मैले प्रपोज गरे’ भनेर ।” मैले मुखको तितो पोखे ।

“धेरै मजनु बन्नु पर्दैन । जाबो त्यति कुरा पनि थाहा पाउन नसक्नेले के माँयाको धाक लगाउनु ।”

“मलाई केहि थाहा छैन् । मैले माँया गरेको हो, जासुसी गर्न आउदैन । सुनाउनै मन छ भने तँ आफै भन, कुरा कसले लगाएको थियो ?”

“ रिसाउन चाँहि नरिसाएस्, तेरो त्यो साथी छैन रितेश, हो त्यसले कुरा लगाएको हो म्यामलाई । आफु राम्रो छु भन्छस् कमसेकम कस्तो मान्छेको संगत गर्दै छु भन्ने पनि सोच्नु पर्छ कहिलेकाहीँ ।”

रितेशले त्यस्तो गर्छ भन्ने मैले सोचेकै थिइन । उसैले हो त्यो आइडिया दिएको पनि । उसले फोर्स नगरेको भए मैले भ्यालेनटाइन डे सम्म कुर्ने थिए । के थाहा आफ्नै साथीले घात गर्छ भन्ने ।

“तँलाई चैँ कसरी थाहा भयो नि, यो सब कुरा ?” मेरो मनमा अझै शंका बाँकी थियो ।

“उसले मलाई आफैँ भन्यो । तेरो प्रपोजल मैले एसेप्ट नगरोस् भनेर स्कुल भरी कुरा फैलाईदिएछ । त्यसपछि के भयो म सम्झन पनि चाहन्न । त्यो कम्तिको छ, एक नम्बरको धोकेबाज हो । त्यसले मलाई भ्यालेन्टाइन डेमा घरमै आएर प्रपोज गर्यो । धन्न घरमा दिदी मात्र हुनुहुन्थ्यो र म बाँचे नत्र मेरो लास त्यहि दिन घरबाट उठ्थ्यो । तँलाई मेरो बाबाको रिस थाहा छदै छ नि ।”

सन्ध्याको कुराले म स्तब्ध भए । आखिर उसले यस्तो किन गर्यो । उ त कवितालाई मन पराउछु भन्थ्यो । सन्ध्या मेरो लागी प्रफेक्ट छे भनेर उसैले भनेको थियो । स्कुल छोडेपछि पनि मलाई बारम्बार सन्ध्याको बारेमा सोधेर हैरान गर्थ्यो । मलाइ लाग्थ्यो उ मेरो बारेमा चिन्ता गरिरहेको छ । पछि पछि उसले सन्ध्याको बारेमा नराम्रो कुराहरू सुनाउन थाल्यो । सन्ध्याको कलेजमा अर्कै बोईफ्रेण्ड भएको र आफुले धेरै चोटि फनपार्कमा केटासँग भेटेको सुनाउथ्यो । उसको कुराले अत्ति भएपछि एक दिन हामी बिच भनाभन भयो र वर्षौको दोस्ति दुस्मनिमा बद्लियो ।

“उसको गर्लफ्रेण्ड त कविता थिई होइन र ? फेरी तँलाई किन प्रपोज गर्यो त ?”

“तैले चिनेकै रैनछस् । त्यो प्ले ब्वाई हो, कविता रे, स्कुलको कसैलाई प्रपोज गर्न बाँकि राखेको छैन त्यसले । त्यसले घरमै आएर त्यस्तो गरेपछि मलाई केटाको जात नै ठिक लाग्न छोड्यो । आखिरमा तँ पनि त्यहि ग्रुपको नै होस् ।”

“ एउटा कुरा भन्, तँ मलाई मन पराउथिस् ?” मैले सन्ध्यालाई सोधे ।

“अब के फरक पर्छ र । मैले तँलाइ मन पराए पनि मन नपराए पनि ।”

“फरक पर्छ सन्ध्या, धेरै फरक पर्छ , तँ यत्ति मात्र भन कि तैले त्यो दिन मेरो प्रपोज एसेप्ट गरेको थिइस् ?”

“हेर ! बितेको कुरा बिति सक्यो । पास्ट इज पास्ट । म तँलाई अहिले मन पराँउदिन । यहि सत्य हो । ”

“मतलब तँ मलाइ मन पराउथिस् । आइ नो । यु लाइक मि । थाहा छ तँलाई, आज पनि हरेक दिन म तेरै बारेमा सोचिरहेको हुन्छु ।”

“सोचेर केहि फाईदा छैन । समय धेरै पछि परी सक्यो । पुरानो कुरा सम्झिएर आफ्नो भबिष्य बर्बाद नगर । राम्रो सँग पढ । भबिष्यलाई हेर् । यु डिजर्भ मोर वेटर द्यान मि ।”

“मलाई थाहा थिएन सन्ध्या तँ पनि मलाइ मन पराउछेस् भन्ने । प्रिन्सिपल म्यामको हातको कुटाई खाएपछि मलाई लाग्यो तँ मलाइ मन पराउदिनस् भन्ने । तेरो अगाडी मलाई पर्न पनि गार्हो भयो । स्कुल छोडेपछि भेट्न मन भएर पनि तेरो नजिक आउन सकिन । सायद म तेरो लायकको थिइन होला । आज सम्म तँ बाहेक अरु कसैलाई यो मनमा राखेको छैन् । अब म तेरो नजिक हुने कोसिस गर्दै छु तर तँ मबाट टाढा जान खोज्दैछस् । यु आर द पर्फेक्ट वान् फर मि ।” यो म्यासेज टाइप गर्दा मेरो आँखाबाट आशु झरिरहेका थिए ।

“अब धेरै ढिलो भईसक्यो । तँलाइ यति सानो कुरा थाहा पाउन पनि यत्रो समय लाग्यो है । सुरु सुरुमा मलाई तँ देखि पनि धृणा लाग्थ्यो तर जब समय बित्दै गयो तेरो अभाव फिल हुन थाल्यो ।स्कुलका दिनहरूमा तेरो उदास अनुहारले मलाई सधै सताइरह्यो । 

एस्.ई.ई को फेयर ओयलमा पनि तँ आईनस् । मेरै कारणले गर्दा नआएको भन्ने सुनेपछि झन नमज्जा लाग्यो । म तँलाई त्यहि दिन “यस्” भन्ने थिए । तेरो लागी गिफ्ट पनि किनेर ल्याएकि थिए तर भगवानलाई पनि हाम्रो सम्बन्ध स्विकार्य थिएन होला, त्यसपछि हाम्रो भेट कहिल्लै भएन । मैले हरेक दिन तेरो म्यासेज कुरिरहे । न फोन, न एस.एम.एस् । 

थाहा छैन कलेजको त्यो दुई वर्ष कसरी बिताए मैले । फेसबुकमा कति खोजे तँलाई । स्कुलको साथिहरूलाई कति सोधे मैले । यति सानो शहरमा पनि तँ यसरी हराईस् कि मैले चाहेर पनि तँलाई भेटाउन सकिन् ।”

वर्षौ देखिको एउटा रहस्य आज खुलेको थियो । सन्ध्या मलाई मन पराउथी । सायद म त्यहिँ बेला पनि उसको लायकको थिए । आखिर किन मैले आफुलाई उसको नजरमा सधै तल राखे । रितेशले म्यामलाई कुरा नलगाइदिएको भए वा सन्ध्याको घरमा गएर त्यस्तो हर्कत नगरेको भए आज हामी कति खुसि हुन्थ्यौँ होला । मैले नै हो स्कुलका कुनैपनि साथीहरुलाई फेसबुकमा एड नगरेको । अरुले पनि खोजेर हैरान गर्छन भनेर सबै प्रोफाईल हाईड गरे । नाम पनि चेन्ज गरे र सकेसम्म आफुलाई लुकाउने कोसिस गरे । आफ्नै कारणले पाउन नसकेको प्रेम र निभाउन नसकेको सम्बन्धलाई साम्झदा मेरो मुटु भक्कानिएर आयो । सिरानीमा मुख लुकाएर म रुन थाले । पलपल सन्ध्यासँगको साथको कल्पनामा रोइरहे ।

नौ बजे तिर दाई आउनु भयो । आफुले तेस्तो मेहनत गरेर बनाएको खाना पनि मिठो लागेन । दाई खाना खाएर आफ्नो कोठामा जानु भयो । निन्द्रा लाग्ने कुरै थिएन, किचनमै बत्ति निभाएर धुमधुम्ति बसिरहे। सन्ध्यालाई म्यासेज पनि गर्न मन लागेन । उनको फेसबुक वालमा गए । पुराना पोस्टहरू हेर्न थाले । कलेजमा हुदा टुर गएका फोटोहरू रहेछन् । ति फोटामा उनि धेरै नै खुसि देखिन्थिन् । पोखरा, इलाम, सिक्किम, गोवा । ओहो कति धेरै ठाँऊहरू घुमुसकिछ उसले ।

सन्ध्याको प्रोफाइलमा गए । बायो राम्रो लाग्यो ।देखे रिलेशन स्टाटस सिङ्गल नै थियो तर पनि मन खुसि हुन सकेन । उनको फोटामा आएका कमेन्टहरू पढ्न थाले । हरेक फोटामा दुईतिन सय लाईक, कमेन्टहरू थिए । सबैको कमेन्ट उतै थियो । सुन्दरताको तारिफै तारिफ । कतै कतै प्रेम प्रस्ताव पनि थिए । कति सजिलो बनाईदिएको छ यो फेसबुकले, जस्लाई जतिबेला मन लाग्यो उति बेलै आफ्नो मनको कुराहरू भन्न सक्ने बनाईदिएको छ ।

जति धेरै फोटो हेर्न थाल्यो उति आशु झर्न थाल्यो । स्कुलको अन्तिमदिनको ग्रुप फोटोहरू सेभ गरे । आब फेसबुक हेरेर बस्नुको कुनै मतलब थिएन । युटुबमा वच्चुकैलाशका गितहरू सुन्न थाले ।

टुङ । टुङ ।

“तँ सुति सकिस् ? तँलाई एउटा कुरा भन्नु छ तर भँनु कि नभनु म आफैँ दोधारमा छु ।” म्यासेज सन्ध्याको थियो ।

रातको एघार बजिसकेको थियो । मैले मन दरो पारे । किनकी मलाई थाहा थियो यसले ठुलै कुरा सुनाउदैँ थिई ।

“अब सुन्न के बाँकि छ र । तैपनि भन न के हो ?”

“तँ आफुलाई दुःखी नबना है । तेरो पिडा म बुझ्न सक्छु किनकी म पनि खुसि छैन तँ बिना । तँलाइ म जीवनभर बिर्सन सक्दिन होला तर समयले बिर्सन बाध्य बनाउने छ एकदिन। हामी हिजो सम्म जस्तो अबस्थामा थियौ भोलि पनि तेसैगरी बाँच्नु पर्छ । सम्झि, आजको यो दिन एउटा खराब सपना थियो र यस्लाई जतिसक्दो चाढोँ भुल्नु नै राम्रो ।”

उ कति सजिलै भुल्न अनुरोध गर्दै थिई । कसरी सकिन्छ भुल्न जीवनको अधुरो पहिलो प्रेम । उ खुसी हुनसक्छे होला किनकी उ हिजो पनि खुसी नै थिई म बिना ।

“ तँ मेरो स्कुल लाईफको बेस्ट फ्रेन्ट होस् र सधैँ मेरो बेस्ट फ्रेन्ड नै रहनेछस् । तेरो ठाँऊ अरु कसैले ओगट्ने छैन् । तँसँग झुट बोलेर म आफैलाई माफ गर्न सक्दिन् । कुनै न कुनै दिन तैले अबश्य नै थाहा पाउनेछस् र त्यो दिन फेरी तँलाई दुःखी बनाउन चाहन्न । म डिपेन्डेन्ट भिसामा बाहिर जान लागेको हो र आज कोट म्यारीज पनि भयो । सायद भोलिबाट म तँसँग यसरी बोल्न पाँउदिन होला र अब बोलेर पनि कसैलाई फाइदा छैन् । हिजो जे-जस्तो भयो त्यसले भोलिको भबिष्यलाई असर पार्नु हुदैन । तँ अब बुझ्ने भईसकिस् । म भन्दा पनि राम्री, धेरै माँया गर्ने, सँधै खुसि राख्ने साथी खोज्नु । नियतिको गोरेटोमा फेरी कुनै दिन भेटिएछ भने आजको यो तितो सम्झनाहरू फेरी साटौँला र बाँकी जीवनका कुरा गर्दै रमाउला । अलबिदा ।”

सन्ध्याको म्यासेज पढेपछि त्यसको जबाफ लेख्ने सहास मसँग थिएन । सन्ध्या मेरो जीवनमा हिउँदको झरी जसरी आई र यो मनलाई रुझाएर गई । कोठाको झ्यालबाट बाहिर हेरे आकाशमा ताराहरू चम्किरहेका थिए । टहटह जुनको उज्यालोमा धरती शान्त, निश्चल  थियो । दुईदिन देखेको झरी पनि थामिसकेको थियो । सन्ध्यालाई भन्नु पर्ने कुरा नै के थियो र मसँग । उसकै अन्तिम शब्द काफी थियो मेरो लागी । बस् यति मात्र लेखे, “ अलबिदा ।”

***


No comments:

Post a Comment