Saturday, July 30, 2022

"MERO EUTA SATHI CHAA" by Pradip Devkota "Musafir" “मेरो एउटा साथी छ” -प्रदिप देवकोटा ‘मुसाफिर’

 Part 6

समय उहि थियो, साथी उहि थिई बस् हाम्रो कुराको टपिक फेरिएको थियो ।



“ सर्मिला, म तिम्रो बेस्ट फ्रेण्डलाई मन पराऊछु । तिमीले मलाई हेल्प गर्नु पर्यो । तिमी त मेरी बहिनी जस्तै छौ, यो दाजुको लागि त्यति गर्देउ न हई । म पार्वतीलाई मन पराउछु भन्ने कुरा उसलाई भन्देउन प्लिज ।” म त अलमलमा परे । वसन्त सरले यस्तो कुरा गर्नुहोला भन्ने मेरो मनले एकरति पनि सोचेको थिएन ।  रक्सिको नशामा बोल्नु भएको होला भनेर उहाँको कुरालाई मैले त्यति सिरियस लिगिन । मैले हुन्छ, म कोसिस गर्छु भनेर फोन काटिदिए ।

वसन्त सरले फोन राख्ने बित्तिकै पार्वतीको फोन आयो, “ओई सुन्न ! मलाई त्यो वसन्त सरले आज प्रपोज गर्नु भयो । मैले त नाई भनि दिए । कस्ले “एस” भन्छ है त्यस्तो रक्सी खाने मान्छेलाई ।”

पार्वतीको कुरा सहि थियो । वसन्त सर हेर्दा ह्याण्डसम् देखिनु हुन्छ, पैसा पनि राम्रो कमाउनु हुन्छ, बोलि बचन पनि मिठो छ तर एउटा बानी साह्रै खराब थियो, रक्सि पिउने । यदि उहाँले आफुलाई नर्मल बनाएर, राम्रो टाईमिङमा प्रपोज गर्नु भएको भए सायदै कुनै केटीले नाई भन्थी होला ।

रक्सिको नशामा गरेको प्रेम प्रस्ताबलाई कुन रुपले स्विकार्ने । आज बेहोसिमा प्रेम प्रस्ताब राखेको कुरा भोलि बिहान होसमा आउदा सबै बिर्सिदियो भने बिचरा केटीको जीबनको के हालत हुन्छ । पार्वतीले जे गरेकी थिई मलाई पनि सहि नै लागेको थियो ।

भोलि पल्ट स्कुलमा वसन्त सरलाई हेरे । उहाँको आँखाहरु राता थिए । अनुहार निलो थियो । ओठमा कलेटी परेको थियो । शरीरमा तागत नै नभए जसरी उहाँ पढाईरहनु भएको थियो । उँहाको हातल देखेर मेरो मनमा दया जागेर आयो । उहाँको मनमा के कुरा बितिरहेको होला म सोच्न मात्र सक्छु, जाबो एउटा केटीलाई मन पराउछु भन्न पनि रक्सिको साथ लिनुपर्ने, यो कस्तो बाध्यता । छोरा मान्छे भनेर मात्र नहुने रहेछ, उनिहरूको पनि आफ्नै कमजोरी र सिमा हुने रहेछन् । वसन्त सरलाई देखेपछि जीवनमा पहिलो पटक मैले केटा मान्छेमा पनि फिलिङ्स् हुदो रहेछ भन्ने बुझे ।

बेलुका घर फर्कने बेलामा पार्वतीले फेरी त्यहि कुरा दोहोर्याई । वसन्त सरले पार्वतीलाई पहिल्लै देखी फोन गर्नुहुदो रहेछ । पार्वतीले त मलाई कहिल्लै यो कुरा भनेकी थिईन । बेस्ट फ्रेण्डसँग पनि उसले कुरा लुकाएकी थिई । मैले उसलाई जिस्काउदै भने, “के हो ? हुनेवाला ब्बाई फ्रेण्डले फोन गरेको कुरा त मलाई कहिल्लै भनिनौ त । मलाई भन्दा बढी माँया तिमी त्यो सरलाई गर्छौँ की के हो ?”

मेरो कुराले सायद उसलाई नराम्रो लाग्यो होला । मैले पनि उसैलाई दोस लगाएको थिए । उसले मलाई स्पस्टिकरण दिदै भनि,  “खासै धेरै कुराहरू हुदैन थियो । सामान्य हाई हेल्लो भन्दा धेरै केही बोल्नु हुन्थेन । एक दुई मिनेट बोलेपछि फोन राखिदनु हुन्थ्यो । मैले यसलाई सामान्य ठाने । तिमीलाई भन्छु भन्ने त सोचिराथे, त्यहि दिन प्रपोज गर्नु भयो । मैले के भनौ, तिमी आफै भन त । उहाँ प्रति मेरो मनमा कत्ति पनि फिलिङ्स नै छैन् ।”

पार्वतीको कुरा साँचो थियो, कसैले प्रेम प्रस्ताब राख्यो र उसलाई खुसी बनाउनु पर्छ भन्दैमा “एस्” भन्न त सकिन्न नि । त्यो मान्छे प्रति मनमा अलिकति भएपनि फिलिङ्स त हुनुपर्यो नि होईन । उसले हेर्दा आफ्नो मनमा काउकुति लाग्नु पर्यो, उसलाई बेला बेला सपनामा देख्नु पर्यो , एकान्तमा उसैको यादले सताउनु पर्यो। अनि मात्र पो त्यो मान्छेको अभाब मनमा खट्किन्छ, उसैलाई काहाँ भेटु, कसरी बोलु जस्तो लाग्छ । बल्ल पो मनमा माँया पलाउन थाल्छ । मन पराउनु र माँया गर्नुमा धेरै फरक छ । मान्छेहरू मन पराउनु नै सबथोक हो भन्ठान्छन् । मन पराएको सबै कुराहरू पाउन सकिदैन भनेर उनिहरूलाई कसले भनिदेला ।

पार्वतीको रिजेक्सनले वसन्त सर धेरै न हर्ट हुनुभयो, उहाँको व्यबाहार  बिस्तारै बदलिन थाल्यो । उहाँ स्कुल पनि आफुलाई राम्रो सँग मेन्टेन नगरी आउन थाल्नु भयो । अघिल्लो दिन  स्कुल आउदा उहाँको जस्तो हालत हुन्थ्यो, भोलिपल्ट झन त्यो भन्दा खराब हुन थाल्यो । एक कान दुई कान हुदै वसन्त सरले पार्वतीलाई प्रपोज गरेको कुरा स्कुल भरी फैलियो ।

सबै जनाले मलाई पो सोध्न थाले, पार्वतीको कुनै ब्बाई फ्रेण्ड छ कि नाई भनेर । मैले खै मलाई त थाहा छैन, हामी मिल्ने साथी मात्र हौँ, मैले यस बारेमा उसलाई सोधेकी छैन भनेर कुरा मिलाउन खोज्थे किनकी उहाँहरुलाई वसन्त सरको वास्तविकता थाहा थिएन । उहाँहरुलाई त वसन्त सर प्रफेक्ट मान्छे  लाग्थ्यो, बरू पार्वतीमै खोट लगाउथ्ये । एउटै प्रश्न बारम्बार सुन्नु परेपछि म रिसाउदै भन्थे, “पार्वतीको ब्बाई फ्रेण्ड मै हो, कसैलाई केहि आपत्ति छ ।” मेरो जबाफले सबको मुखमा बुजो लाग्थ्यो ।

वसन्त सरले राति राती सधै रक्सिको नशामा मलाई फोन गर्न थाल्नु भयो । उहाँ दिनमा सोझो, इमान्दार, कम बोल्ने जस्तो देखिनुहुन्थ्यो, तर रात परे पछि उहाँको क्यारेक्टरमा ठ्याक्कै एक सय असि डिग्रीको फरक पर्थ्यो । म उहाँलाई सम्झाउने हर कोसिस गर्थे, पहिला हजुर होसमा आउनुस अनि फ्रेस माईण्डमा सँगै बसेर कुरा गरौला भन्थे, तर उहाँ रक्सिको साहारा बिना एक शब्द पनि बोल्न नसक्ने हुनुभएको थियो । हायः मर्द भनेको छोरा मान्छेको नियति ।

मलाई सुरुसुरूमा अजीब लाग्थ्यो तर पछि पछि त झर्को लाग्न थाल्यो । सधै एउटै कुरा सुन्दा सुन्दा मेरो कान पाकिसकेको थियो । मन पराउने आफु, माँया गर्ने आफु अनि रातको निन्द्रा फालि फालि टाउको दुखाउनु पर्ने चै मैले । उहाँले गर्ने कुराहरुमा पार्वतीलाई “नो” भन्न मैले नै लगाएजस्तो वा मैले जे भन्यो त्यहि पार्वतीले मान्य जस्तो खालको हुन्थ्यो । म पो अचम्ममा परे । माँयामा धोका खाने एउटा अनि सजाए चै मैले भोग्नु परिरहेको थियो ।

उहाँले पार्वतीलाई पनि हरेक रात फोन गरेर त्यहि कुरा सुनाउनु हुदो रहेछ । बिचरी पार्बती पनि के गरोस् , बिस्तारै उसको मन पग्लिएछ र उसले एउटा सर्तमा मात्र एसेप्ट गर्ने कुरा गरिछ , त्यो हो रक्सि छोड्ने । पार्वतीको कुरा सुन्ने बित्तिकै उहाँले आज बाटै छोड्ने र जीन्दगीभर नछुने कसम खानु भएछ । पार्वतीले मलिनो स्वारमा मलाई सुनाएकी थिई, “उहाँको सबै बानि ठिक छ, त्यहि एउटा बानि सुधार्नु भयो भने म उहालाई “नो” भन्न सक्दिन । मेरो कारणले उहाँको त्यस्तो हालत भएको म देख्न सक्दिन । मेरो मनमा बिस्तारै माँया पलाउदै आयो । मलाई माफ गर है मेरो बेस्ट फ्रेण्ड, म उहाँलाई अब त्यस्तो हालतमा देख्न सक्दिन ।” मैले बसन्त सरलाई सम्झिरहेको थिए, कतै यहि कुरा को खुसीमा उहाँ झन रक्सि थप्दै मात्तिरहनु भएको त छैन् ।

पार्वतीको कुराले मेरो आँखा रसायो । उसले हाम्रो सर्त तोडेकोमा होईन , उसको मन कति धेरै कोमल रहेछ भनेर । मैले यसमा भन्नु पर्ने कुरा केही पनि थिएन । पार्वती आफ्नो निर्णयमा खुसी छे भने म पनि उसको खुसीमा खुसी नै थिए । बस् भगवान सँग मेरो एउटै प्रथाना थियो, पार्वतीले आफ्नो मन वसन्त सरसँग साटे पनि हाम्रो मित्रता चाहीँ नसाटोस है । सधै उस्तै रहिरहोस् ।

बिस्तारै पार्वती र वसन्त सरको रिलेसनसिप सुरु हुन थाल्यो । स्कुलमा पनि सबैजना खुसी थिए किनकी वसन्त सरको स्वरुप फेरिएको थियो । उहाँको अनुहारमा खुसी नाच्न थालेको थियो । उहाँ पहिले जस्तै खुलेर बोल्न थाल्नु भएको थियो यस्तो लाग्थ्यो उहाँको मनमा बिझेको काँडा पार्वतीले झिकेर फालिदिएकी थिई । उहाँमा आएको परिवर्तनले पार्वती पनि खुसी थिई । पार्वतीलाई पनि लाग्न थालेको थियो कि उसैको माँयाले नै यो सब परिवर्तन भईरहेको छ ।

पार्वतीले वसन्त सरलाई समय दिनथाले पछि म सँगको साथमा केही कमी आएको थियो । बिस्तारै उसको बोलिचालि पनि फेरिदै थियो । पार्वती पहिला जसरी खुलेर बोल्न पनि छोडेकी थिई । उनिहरुको सम्बन्ध राम्रै चलिरहेको थियो भने मैले बिचमा डिस्टर्ब गर्ने कुरा पनि त भएन ।

स्कुलमा पनि उ धेरै जस्तो वसन्त सरकै वरीपरी हुन्थी । बेलुका घर फर्कने बेलामा पनि केही न केही बाहाना बनाउन थालि । मलाई सिधै भनेकी भए पनि म कुरा बुझ्थे नि, मलाई त ढाँट्नु पर्दैनथ्यो होला नि । अरूलाई काम छ भनेर ढाँट्न सजिलो थियो तर मैले त बुझेको थिए नि उसको मनको कुरा । उसको प्रेममा म कबाफमा हड्डी पक्कै बन्दिन थिए । मैले उसलाई कहिले पनि रोकिन, किनकी उ आफ्नो प्रेमीसँग खुसी हुन्छे भने म त्यतिकै खुसी थिए ।

शनिबार वा बिदाको दिनमा मात्र उ मेरो घरमा आऊथी । पुरानो दिनहरूमा जसरी हामी घन्टौ कुरा गर्थ्यौ । समय उहि थियो, साथी उहि थिई बस् हाम्रो कुराको टपिक फेरिएको थियो । अब उसलाई आफ्नो भन्दा वसन्त सरको बढी चिन्ता लाग्न थालेको थियो । अहिले सम्म त वसन्त सरले आफ्नो वाचा पुरा गरिरहेका रहेछन् तर  मलाई भने भित्र कतै मनमा शङ्का लाग्थ्यो । त्यति धेरै रक्सि पियर मात्तिने मान्छे, एकै दिनमा यति परिवर्तन हुनसक्छ भन्ने मलाई चाँहि बिस्वास लागेको थिएन । मेरो मनको कुरा पार्वतीलाई भनि भने उसको मन दुख्थ्यो , त्यसैले उसलाई केही भनिन ।

No comments:

Post a Comment