Part 3
अर्को महिनाको स्टाफ मिटिङमा बल्ल पो टिउसन
पढाउनलाई एक्स्ट्रा टिचर चाहिएको कुरा उठ्यो । कुनैपनि टिचरले म पढाउन सहयोग गर्छु
भन्नुभएन किनकी सबैलाई आफ्नो घरको दिनभरीको काम जो भ्याउनु थियो । ईन्चार्ज
म्यामले एक हप्ता भनेको पनि दश दिन भई सकेको थियो । मैले एक्लै पढाउन सक्ने अवस्था
नै थिएन ।
मैले प्रशासनलाई अर्को एक जना टिचर नभएसम्म आफुले
टिउसन पढाउन नसक्ने कुरा राखे । उहाँहरूले पनि ईन्चार्ज म्यामकै कुरा दोहोर्याउनु
भयो । “अहिले टिचर नै पाईदैन् । फेरी बेलुकाको एक घन्टाको लागी पढाउन कसैले
मान्दैनन् बरू मेरै कोही साथी भए पढाउन ल्याउनुस न” भन्नु भयो । अब मैले नभएको साथी
काहाँ खोज्न जानु । एक त मेरो थोरै साथीहरू थिए त्यसमाथी उनीहरूलाई आफ्नो बाउआमाको
पैसाले मस्त खान लाउन पुगेकै थियो, बेकारमा दुःख गर्न किन आउथेँ होला ।
मैले मेरो त्यस्तो साथी कोहि पनि नभएको कुरा
राखिदिए । प्रसासनसँग पनि अर्को कुनै बिकल्प थिएन । चाढैँ हामी अर्को टिचर खोज्छौ,
तपाई पढाउदै गर्नुस भनेर त्यो मिटिङ सकियो ।
एक साझ टिउसन सकेर घर जान लाग्दा ईन्चार्ज
म्यामले “भोलिबाट एक जना नयाँ टिचर आउनुहुन्छ, बच्चाहरुलाई दुईवटा सेक्सनमा बाढेँर
पढाउनुहोला” भन्नुभयो । मेरो मन खुसी भयो । कमसेकम मेरो बोझ अलि कम हुनेभयो । घर
पुग्दा पनि मेरो दिमागमा एउटै कुरा खेलिरहेको थियो, कस्तो टिचर आउनुहुन्छ होला त ?
सधैलाई काम गर्ने आऊनुहुन्छ होला कि एक दुई दिनमै छोड्ने ? किनकी बोर्डिङ स्कुलमा
टिचरहरू धेरै समय टिक्दैनन् । सधै स्कुल प्रसासन र टिचरहरुको बिचमा एउटा अबिस्वास
बनेको हुन्छ । स्कुल प्रसासनले टिचरलाई बिस्वास गर्न सक्दैन अनि टिचरले पनि बिच
सेसनमै स्कुल छोडिदिन्थे ।
भोलिपल्ट मेलै स्टाफ रुममा त्यहि कुरा सुने । आज
एक जना टिचर आउनु हुन्छ रे । उहाँ लेडिज टिचर हो भन्ने सुनेपछि त मेरो मन झन
खुसीले नाच्न थाल्यो । म पनि नयाँ जस्तै थिए, नयाँ नयाँ मान्छेहरुको कुरा छिट्टै
मिल्न सक्थ्यो । बल्ल मैले कुरा गर्ने साथी पाउने भए भनेर मेरो मन ढुक्क भयो ।
मलाई मनमा अर्को डर पनि थियो, कतै मेरो खुसी दुई दिन भन्दा बढि नटिक्ने
पो हो की ?
साझ चार
बजे आफुले पढाउदै गरका बच्चाहरुलाई उनिहरूको लेभल अनुसार दुईबटा सेक्सनमा छुट्याए
। ठुलो कक्षाका बच्चाहरुलाई मैले आफुसँग राखे र साना र पढाईमा राम्रा बच्चाहरूलाई
नयाँ टिचरको लागी छुट्याए । म आफ्नो कक्षामा पढाउदै थिए । साढे चार भईसकेको थियो
तर नयाँ टिचर अझै आईपुग्नु भएको थिएन । बच्चाहरू कक्षाबाट बाहिर निस्केर हल्ला
गर्न थालिसकेका थिए ।
माथी रोडबाट एकजना मेरै उमेरको केटी मान्छे
हतारिदै तल झर्दै गरेकी देखे । रातो कुर्ता र कालो सलमा सजिएकी उनलाई टाढाबाट
देख्दा मैले मनमनै सोचिसकेको थिए “ हे भगवान ! यहि मान्छे हाम्रो स्कुलको नयाँ
टिचर भईदिए हुन्थ्यो नि।” हेर्दा हेर्दै उहाँ त हाम्रै स्कुलको गेटबाट भित्र
छिर्नु भयो र ग्राउडमा आएर स्टाफ रुम खोज्न थाल्नु भयो । म कक्षाबाट बाहिर निस्किए
। आज इन्चार्ज म्याम स्कुलमा हुनुहुन्नथ्यो । मैले नै उहाँलाई स्टाफ रुममा लगे ।
उहाँ मेरो पछाडी आउदै गर्दा “म नयाँ टिउसन टिचर” भन्नु भयो । मैले केही प्रतिक्रिया
दिईन । उहाँले पढाउनु पर्ने कक्षा देखाइदिए । थाङ्कु भन्नु भयो । मैले नबोलि टाउको
तलमाथी हल्लाएर वेलकम भने ।
पाँच बजे टिउसन सकिएको घन्टी बज्यो । सबै बच्चाहरू
हुर्रे, हुर्रे छुट्टी भन्दै गेट तिर दगुर्न थाले । प्रायः जसो सबै बच्चाहरूको
अभिभावक गेटमै लिन आउनुहुन्थ्यो । म आफ्नो कक्षा सकाएर स्टाफ रुममा ब्याग लिन जादैँ
थिए । पछाडीबाट कसैले म्याम, म्याम भनेर बोलाएको सुने । पछाडी फर्केर हेर्दा उही
नयाँ टिचर हुनुहुन्थ्यो ।
उहाँले आफ्नो परिचय दिनु भयो । उहाँको नाम पार्वती
अधिकारी रै’छ । मैले पनि आफ्नो परिचय दिए । स्कुलबाट बाहिर निस्कदा हामी सँगै भयौ
। उहाँले मेरो घर कता हो भनेर सोध्नु भयो, मैले “त्यहि तल हो, नजिकै छः भने । उहाँले
पनि “मेरो घर जाने बाटो पनि त्यतै हो, हामी सँगै जाम है” भन्नु भयो । मैले हुदैन
भन्ने कुरै थिएन ।
हामी एक आर्काको बारेमा कुराहरु सोध्दै अनि आफ्नो
बारेमा पनि भन्दै हिड्न थाल्यौँ । पन्ध्र मिनेट हिडेपछि मेरो घर आइपुग्यो । उहाँको
घर त मेरो घरबाट पनि धेरै माथि रहेछ । त्यहाँबाट गाडी चढेर बिस मिनेटमा पुगिने
रहेछ, हिड्दै गए त एक घन्टा नै लाग्ने रैछ । यो कुरा थाहा पाएपछि उहाँले आफु दिउसो
अर्को स्कुलमा पढाईरहेको कुरा पनि सुनाउनु भयो । म त छक्कै परे । एकै दिनमा
दुईदुईवाट स्कुलमा कसरी पढाउन सकेको होला, मलाई
त एउटै स्कुलमा पनि पढाउन गाह्रो भरइहेको थियो ।
उहाँको घर जाने गाडी आइपुगेको थिएन । रोडको
पारिपट्टी मेरो घर थियो, हामी रोडको वारी गाडी कुरिरहेका थियौँ । मैले उहाँलाई वारीबाटै
मेरो घर देखाए । भेटेको आज एक दिन मात्र भएपनि हामी बिच धेरै कुराहरू भएको थियो ।
मलाई उहाँको सजिलै खुलेर बोल्ने बानी मन पर्यो । उहाँ एकदम फ्रायाङ्क हुनुहुन्थ्यो
। मैले त पहिलो दिनमै उहाँलाई आफ्नो साथी ठानिसकेको थिए ।
आधा घन्टा बितिसक्दा पनि उहाँको घरजाने बस आएन ।
त्यसरी बजार छेउको रोडमा दुईजान केटीहरू अघिनै देखी उभिरहेको देखेर छेउछाउका
मान्छेहरुले घुरेर हर्न थालिसकेका थिए । मैले पार्वती म्यामलाई “हाम्रो घर जाऊ,
खाजा खाएर आउदा बस पनि आईपुग्छ” भने। उहाँले मन्नु नै भएन । सायद पहिलो चोटि
भेटेको मान्छेको घरमा कसरी जाने होला भनेर उहाँलाई अड लागेको थियो । मलाई पनि त्यहाँ उभिएर बस्न
त्यस्तै अड लागेको थियो ।
पेटमा भोक थियो, शरिरमा थकाई थियो, खुट्टा झमझम
गर्न थालिसकेका थिए । एकमन त छोडेर जाऊ जस्तो पनि लाग्यो, आर्को मनले यत्रो समय
सँगै बसेपछि अहिले छोडेर जादा पार्वती
म्यामले के भन्नुहोला जस्तो लाग्यो । चोकमा त्यसरी एउटी केटालाई एक्लै देखेपछि अरू
केटाहरुले झन कति जिस्काउलान् । मैले
आफ्नो सारा पिडा र दुःखलाई बिर्सिएर पार्वती म्याम सँगै बस कुरेर बसे ।
बल्लबल्ल बस आयो तर पुरै यात्रु भरिएर । बस भित्र
खुट्टा हाल्ने ठाँउसम्म थिएन । कसरी जानु हुन्छ होला यस्तो बसमा । मैले “यो बस त
प्याक छ अर्को बस कुरौँ” भने । उहाँले “हाम्रो तिरको बस यस्तै हो, मलाई त बानि
परिसक्यो” भन्नु भयो । उहाँले नै त्यसो भनेपछि मैले अरु थप कर गर्ने कुरा पनि भएन
फेरी अर्को बस कुर्ने समय पनि थिएन ।
मैले “राम्रो सँग जानुहोला पार्वती म्याम” भने ।
उहाँले झ्यालबाट टाउको निकाल्दै भन्नु भयो , “मलाई म्याम नभन न है, पार्वती मात्रै
भन ल । हजुर, तपाई भनेको मलाई मन पर्दैन के । आजबाट हामी साथी भयौ है ।”
म त छक्कै परे, उहाँले कति सजिलै मेरो मनको कुरा
पढ्नु भएको थियो । मलाई पनि आफ्नै उमेरको साथी जस्तो मान्छेलाई हजुर, तपाई भन्न
गाह्रो भई रहेको थियो । उहाँले त कति सजिलै मलाई आफ्नो साथी बनाउनु भयो । यसरी
हामी भेट भएकै दिनमै साथी बन्यौँ ।
उहाँले झ्यालबाट हात बाहिर निकालेर बाई भन्दै
हुनुहुन्थ्यो, मैले पनि हात हल्लाउदै उहाँ जानुभएको बसलाई हेरी राखे । जब बस
घुम्ति कटेर ओझेल पर्यो, म आफ्नो घर तिर लागे ।
भोलिपल्ट देखी मेरो अनुहारको रुप रङ नै फेरियो ।
म कहिले चार बज्छ र पार्वती म्याम आउनु हुन्छ भनेर कुर्न थाले । उहाँ पनि स्कुल
भित्र छिर्ने बित्तिकै म भएको ठाँऊ खोज्दै आउनुहुन्थ्यो अनि सँञ्चो बिसँञ्चो सोधेर
मात्र आफ्नो कक्षामा जानुहुन्थ्यो । बेलुका पनि हामी सँगै घर फर्कन थाल्यौ । बिस्तारै हाम्रो दोस्ति बढ्दै गयो ।
पहिला हामी अरुको बारेमा धेरै कुराहरु गर्थ्यौ तर
अहिले आफ्नो व्यक्तिगत कुराहरू पनि सेयर गर्न थाल्यौ । उहाँको घर जाने बस नआए सम्म
म रोड छेउमा उहाँसँगै बस कुरेर बस्न थाले । कहिले काहीँ बस साझ पर्ने बेला सम्म
पनि आउदैनथ्यो, हामी कुरा गर्दा गर्दा थाकिसकेका हुन्थ्यौँ तर कहिले चाहीँ ठ्याक्क
हामी त्यहाँ पुग्दा बस हिड्न तयार भएर बसेको हुन्थ्यो अनि हाम्रो कुरा पनि बिचैमा
अधुरो छोडिन्थ्यो । पार्बती हतार हतार बसमा चढ्थिन, म लुरुलुरु घर तिर लाग्थे ।
माफ गर्नु होला मैले अब देखी पार्वती म्यामलाई
पार्वती मात्रै भनेर नै लेख्छु है, अनि
सम्बोधनमा पनि तिमी मात्रै प्रयोग गर्छु किनकी अब हामी एकदमै मिल्ने साथी बनिसकेका
थियौ । हामीले एक आर्कालाई तिमी भनेर बोलाउन थालिसकेका थियौ । मलाई अहिले लेख्न पनि
सजिलो होस् भनेर म पार्वतीमात्र लेख्छु है ।
एकदिन त अच्चमै भयो, कुर्दा कुर्दा सात
जिसक्यो तर बस आएन । मैले पार्वतीलाई
आफ्नो घर लगे । घरमा बाबा, मम्मि र बहिनिसँग चिनजान गराए ।
मैले पार्वतीको बारेमा घरमा सबैकुरा सुनाईसकेकी
थिए । कहिले काहीँ फोनमा पनि हाम्रो कुरा हुन्थ्यो । हामीले खाजा खायौँ । मेरो मम्मिले
पार्वतीलाई आज हाम्रै घरमा बस्न आग्रह गर्नु भयो । मैले पनि बस्न धेरै कर गरे तर
पार्वतीले मान्दै मानिन् ।
“आजसम्म घरबाट एकदिन पनि बाहिर बसेकी छैन। घरमा
मान्नुहुन्न होला, म त जसरी पनि घर जानु पर्छ” भन्न थालिन् । उनको कुरा पनि सहि
थियो, मैले पनि कर गर्न सकिन ।
“तिमी घर नगई नछोड्ने हो भने म बाबालाई भन्छु,
उहाँले तिमीलाई बाईकमा घरसम्म छोडिदिनु हुन्छ नि त”।
पार्वतीसँग पनि अर्को अप्सन थिएन । उसले हुन्छ
भनि । मैले बाबालाई पार्वतीलाई घरसम्म छोड्दिनु न भने, उहाँले पनि सजिल्लै मान्नु
भयो । त्यसपछि पार्वती बाबासँग आफ्नो घर गई ।
मलाई
पार्वती हाम्रो घरमा बस्न नमानेको देखेर रिस उठि रहेको थियो । मम्मिले कर गर्दा
अनि यति राति हुदाँ पनि उसले बस्न नमान्दा कतै हाम्रो जातले गर्दा त होईन भन्ने
शङ्का मनमा ऊठेको थियो । म नेवारको छोरी,
उ उपाध्य बाहुन कि छोरी । घरमा मान्नुहुन्न भनेको पक्कै पनि हाम्रो घरमा बस्दिन
भन्न खोजेकी जस्तो लाग्यो ।
मैले म्ममीलाई पनि यो कुरा सुनाए । मेरो मन गह्रौ
भएको थियो । मलाई पहिलो पटक आफ्नो जातको कुराले हर्ट भएको थियो । मेरो मन दुखेको
थियो । बाबा पार्वतीलाई घर पुर्याएर फर्किए पछि उसको फोन आयो । दुईचोटी सम्म मैले उसको
फोन उठाइन । मलाई ऊठाउनै मन लागेन । त्यसपछि उसैले यति लामो म्यासेज लेखेर पठाई, आफु
किन मेरो घरमा बस्न सकिन भनेर ।
म्यासेज
पढेपछि उसलाई आफैले फोन गरे । आफुले मनमा सोचेको सबैकुराहरू उसलाई रुदै भनिदिए । उ
त मज्जा पो हाँस्न थालि । एक छिन पछि त मलाई पनि आफ्नो बच्चाको जस्तो व्यबाहार
देखेर आफैलाई हाँस्यो उठ्यो ।उसको घरमा बाबा र भाईबहिनि मात्र भएकाले जान
हतारिएकी रहिछ । मामाघरबाट मम्मी फर्किएपछि उ हाम्रो घरमा बस्न गरी आउने कुरा
सुनाई । मैले बिस्वास नलागेर उसलाई कसम खान लगाए । उसले मेरो कसम खाएपछि बल्ल मलाई
बिस्बास भयो ।
No comments:
Post a Comment