Tuesday, May 25, 2021

मुसा मानुष " गनेस पौडेल"।। New Nepali Book Review " Manus Musa" .

 आज देश आर्थिक संकटमा छ । त्यो त सबैले बुझेकै कुरा हो र प्रत्यक्ष  भोगेका पनि छौँ । कल कारखाना र मजदुरी त झन् ठप्पै जस्तो छ । यस्तो विषम परिस्थिमा हातमुख जोड्नैको लागि कति ठाँउ भौंतारिनु पर्छ होला । यदि कतै काम मिलिहाल्यो भने पनि सम्झनूस् त , तपाईसँग यस्तो एउटा साथी छ जो दिमागी रुपमा सुस्त छ र बारम्बार गल्तीहरु गरिरहन्छ । यतिसम्म कि उसले आफूले के गल्ती गरें भन्ने पनि थाहा पाउदैन, जसको कारणले तपाईंले खाईपाई आएको राम्रोभन्दा राम्रो जागिरबाट हात धुनुपर्ने छ । अब भन्नुहोस्, के तपाईं त्यो साथीसँग कामको खोजीमा जान चाहानुहुन्छ ?

हो, यस्तै घटना र समय परिवेशमा आधारित दुई पात्रहरुको एकाङ्की जीवनशैली, उनीहरु बीचको मित्रता र सन् १९३० को महामन्दिपछिको समयमा अमेरिकी जनताहरुमा पलाएको सपना र प्राप्तिको लागि गरिएको संघर्षको फेरिहस्त हो  “मुसा मानुष” ।

मुसा मानुष “अफ माइस एण्ड मिन” को नेपाली अनुवाद हो । अङ्ग्रेजी भाषामा सन् १९३७ मा प्रकाशित यस कृतिका लेखक नोवल पुरस्कार विजेता जोन स्टेनबेक हुन् । यस कथाको पृष्ठभूमि सन् १९१० ताका लेखक स्वयम् युवककालमा कामको खोजीमा गाँउहरु डुलिहिँड्दा भोगेका अनुभवहरु हुन् । यस कृतिलाई लामो समयसम्म अमेरिकाभित्रै पनि बन्देज लगाइएको थियो । किनकि यसमा अश्लिल शब्दहरुको प्रचुर प्रयोग, अमेरिकी समाजमा रहेको रङ्भेद, नैरास्य जीवनशैली र कथित सम्पन्न वर्गहरुको अत्याचारलाई उदाङ्गो पारेको थियो । यस कृतिलाई “पैताला” उपन्यासका लेखक गनेस पौडेलले नेपलीमा अनुवाद गरेका हुन “मुसा मानुष” शीर्षक दिएर ।

 

गनेस पौडेलका साथ प्रदीप देवकाेटा

पाठकहरुलाई कथा र परिवेशमा भिज्न सजिलो होस् भनेर नेपालको पश्चिमी भेगको लवजमा उनिएको यस उपन्यासलाई पढिरहँदा पाठकहरुले आफ्नै माटोको सुगन्ध पाउँछन् । २० औँ शताब्दिको निरस अमेरिकि जीवनशैली, उनीहारूले देख्ने सपना र भोग्ने संघर्षलाई ज्यादै मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । उपन्यासका प्रमुख पात्रहरु लेनी स्मल र जर्ज मिल्टन हाम्रै समाजका दाजुभाइ जस्ता लाग्छन् । यो उपन्यास ज्यादै छोटो घटनाक्रमलाई समेटिएर लेखिएको भए तापनि कथा पढिसक्दा पाठकलाई  इतिहासको एउटा पुरै कालखण्डको यात्रा गराइदिन्छ र मनलाई नमज्जासँग निचोरेर जान्छ । गहनभन्दा गहन घटनाक्रमलाई पनि ज्यादै सरल तरिकाले प्रस्तुत गर्नु र संवादहरुमा सामान्य जनजीवनमा बोलिने शब्दहरुको प्रयोग गरिनुले यस उपन्यासलाई  थप मौलिक र अर्ग्यानिक बनाएको छ ।

कथाको प्लटः

कामको खोजीमा लेनी र जर्ज क्यालिफोर्नियाको सोलडाड गाँउमा जान्छन् । बस ड्राइभरले नियतवश झार्नुपर्ने ठाँउभन्दा धेरै वर झारिदिन्छ र  समयमै कृषि फर्ममा पुग्न नसक्दा उनीहरु सालिनास नदीको किनारमा खुल्ला आकासमुनि रात कटाउन बाध्य हुन्छन् । कथाको प्रमुख पात्र लेनी शारीरिक रुपमा बलियो छ तर बोलीचाली र सोच्ने तौलतरिका ठ्याक्यै बच्चाको जस्तो छ । हरेक कोमल र नरम कुराहरुलाई स्पर्श गर्न चाहन्छ, त्यसैले सधैं गोजीमा मुसो हालेर खेलाउदै हिँड्छ । लेनी सामान्यभन्दा सामान्य कुराहरु पनि भुल्छ । यतिसम्म कि आफूबाट भएको ठूला गल्तीहरु पनि उसलाई हेक्का हुँदैन । उसलाई आफ्नो शरीरमा भएको बल र त्यसले अरुमा पार्न सक्ने असरको रत्तिभर अन्दाज छैन् । कथाभरि लेनीको अवोदपन र उसले भोगेको दुःखले पाठकलाई झक्झकाइरहन्छ ।

लेनीको हरेक दुःख सुखमा साथ दिने र अप्ठ्यारा परिस्थिमा सहयोग गर्ने साथी जर्ज मिल्टन, जो शारीरिक रुपमा होचो कदको छ तर मानसिक रुपमा वयस्क छ । जो लेनीको हर्कतबाट आजित छ र छुटकारा पाउन चाहँन्छ । यही कुराको निहुँमा झगडा पनि पर्छ, लेनी जर्जलाई छोडेर जाने घुर्कीसम्म लगाउँछ तर जर्ज नै उसलाई छोड्न सक्दैन । किनकि साथीको लागि उसले आफ्नो सर्वस्वा गुमाउन तयार छ । जर्जले लेनीप्रति देखाएको उदारतालाई मुक्त्तकण्ठाले प्रशंसा गर्न सकिन्छ ।

यस उपन्यासको अर्को महत्वपूर्ण पात्र क्यान्डी हो, जो शारीरिक रुपमा बूढो छ, एउटा हात काटिएको छ । उसले एउटा आफूजस्तै बूढो रोगी कुकुर पालेको छ । कुकुरको शरीरबाट आइरहने नमीठो गन्धले फर्मका सबै जना आजित छन् । एक साँझ फर्ममा बसेर कुराकानी गरिरहेको बेला कार्सनले उक्त बूढो कुकुरलाई मार्ने कुरा बताउछ । किनकि कुकुरलाई आफ्नै शरीर भारी भएको छ । ऊ खाना राम्रोसँग चपाउन पनि सक्दैन, उसका सबै दाँतहरु झरिसकेका छन् । त्यसैले कार्सन उसलाई टाउकोको ठीक पछाडि गोली हानेर मार्न चाहन्छ र उसलाई यो दुःखबाट मुक्त गराउन चाहन्छ ।

उपन्यासको अन्य महत्वपूर्ण पात्रहरुमा “कर्ली” जो फर्म हाउसको मालिकको छोरा हो । ऊ शारीरिक रूपमा कमजोर छ, त्यसैले आफूभन्दा ठूलो र बलियो मानिस देख्यो कि इर्ष्याले पिरोलिन्छ । उसकी श्रीमती पनि छे जो कुनै समय फिल्मको हिरोइन हुने सपना पाल्थी । उसलाई आफू राम्री भएकोमा एक प्रकारको घमण्ड छ र पराय पुरुषबाट आफ्नो सुनदरताको तारिफ पाउन सधैं लालायीत छे ।

स्लिम अति सुन्दर युवक हो । ऊ फर्ममा गाडा चलाउँछ । स्लिममाथि कर्लीको श्रीमतीले आँखा गाडेकी छे, त्यसैले  कर्ली स्लिमलाई शंकालु नजरले हेरिराख्छ । अन्य पात्रहरुमा ह्विट र क्रुस छन् ।  क्रुस हब्सी हो र ऊ तबेलामा काम गर्छ । २० औँ शताब्तीमा अमेरिकामा जड रूपमा रहेको रङ्गभेदलाई पात्र हब्सी क्रुसको माध्यमबाट देखाइएको छ ।

कर्ली कृषि फर्मको मालिकको छोरा भएकोले उसको अत्याचारले फर्मका कामदारहरु आजित छन् । कर्लीकी श्रीमती चुलबुले र उत्तौलो खालकी छे । कर्लि हरबखत उसलाई शंकाको दृष्टिले हेरिरहन्छ ।  त्यही शंका र उपशंकाको बीचमा एक साँझ कर्ली र लेनीको झगडा पर्छ । बलवान् लेनीको अगाडि बिचरा कर्लीको केही सीप लाग्दैन । उल्टो एउटा हात भाँचिन्छ । त्यसको केही दिनपछि लेनीले भुलवश सानो कुकुरको छाउराको हत्या गरिदिन्छ । यो कुरा जर्जले थाहा पाए आफूसँग रिसाउने डरले कुकुरको छाउरालाई परालले छोप्दै गरेको कर्लीको श्रीमतीले देख्छे । दिनभर फार्ममा एक्लै भएकोले  ऊसँग हास्ने बोल्ने कोही हुँदैनन् । त्यसैले ऊ लेनीसँग नजिक हुन पुग्छे । कुरैकुरामा लेनीलाई आफ्नो केश खेलाउन लगाउछे । बिचरो लेनीले विस्तारै छुँदा पनि उसलाइ असह्य पीडा हुन्छ र ऊ कराउन चिच्याउन थाल्छे । यो सब कुराहरु नबुजेको लेनी हडबडाएर  कर्लीको श्रीमतीको  मुख थुनिदिन्छ । केहीबेरमा कर्लीको श्रीमतीको मृत्यु हुन्छ । कर्ली लेनीसँग हत्याको बदला लिन चाहन्छ । लेनी कृषिफर्म छोडी भागिसकेको हुन्छ, र उसलाई खोज्न सबै जना फर्मबाट निस्कन्छन् ।

लेनी नदी किनारमा लुकिबसेको छ । त्यही बेला जर्ज उसको छेउ आउछ । उनीहरु धेरैबेर  आफ्ना सपनाको कुराहरु सम्झन थाल्छन् । लेनीलाई खरायो पाल्ने सपना देखाइरहँदा जर्जले पछाडिबाट टाउकोमा गोली हानी लेनीको हत्या गरिदिन्छ । ताकि कर्लीले बदलाको रिसमा उसलाई तड्पाई तड्पाई नमारोस । यी सबै घटना नजिकबाट हेरिरहेको स्लिमले लेनीको हत्या गरिसकेपछि जर्जलाई राजमार्ग छेउ रक्सी पिउन लैजान्छ ।

कथाको थिमः

यो सम्पुर्ण कथामा एउटै कुरा बारम्बार दोहोरिरहन्छ । त्यो हो सपना । यहाँ हरेक पात्रका आफ्नै सपनाहरु छन् । जर्जको हरेक बन्धनहरुबाट मुक्त भई नस्फिक्री बाँच्ने सपना, लेनीको घरबार जोड्ने , सानो खरायो पाल्ने र त्यसलाई खेलाउने, सुम्सुम्याउने सपना । क्यान्डी आफ्नो जीवनको अन्तिम समय कृषिफर्म छोडी अन्त कतै शान्त ठाँउमा बिताउन चाहन्छ । स्वतन्त्रापूर्वक मर्न चाहन्छ ।

कर्लीको श्रीमती चलचित्रमा नायिका बन्ने अधुरो सपनामा बाँचिरहेकी छ, अनि क्रुसको आत्मसम्मान सहित सुरक्षित बाँच्ने सपना । रुमानी सपनाको मृगतृष्णामा बाँच्नु उनीहरुको नियति बनिसकेको छ । कुनै पनि मानिसको सपना सानो ठूलो भन्ने हुँदैन, किनकि हरकोही आफ्नो हैसियत अनुसारको सपना देख्न स्वतन्त्र छन् । भलै देखेको सबै सपना पुरा नहुन पनि सक्छ र कथा यही पूरा हुन नसकेको सपनाको भुमरीमा रूमल्लिरहन्छ ।

स्टेनबेगको कथाको अर्को महत्वपूर्ण पक्ष पात्रहरुको  एकाङ्की जीवनशैली हो । पात्रहरु सजीव त छन् तर तिनको जीवनमा कुनै रस छैन्, कुनै संगीत छैन् ।  जस्तो कि बूढो कुकुरको मृत्युपछि क्यान्डीको जीवन एक्लो छ । आफूले सोचेको जस्तो श्रीमान नभएपछि कर्लीको श्रीमती फर्ममा काम गर्नेहरु लोग्ने मान्छेहरुसँग जिस्कदै आफ्नो एक्लोपन भुलाउछे । कर्ली आफूले मन पराएर ल्याएको श्रीनतीसँग सन्तुष्ट छैन्, जसले गर्दा फर्मा काम गर्नेहरुसँग सधैं छुद्र व्यवहार गरिरहन्छ । त्यस्तै एक्लो र निरस जीवन बाँचिरहेको अर्को पात्र हो क्रुस, जो  कालो भएकै कारण अरुबाट अपहेलित छ, तिरस्कृत छ । काम गरेर बँचेको समय अरू कामदारहरु मस्त खेलेर बिताइरहँदा ऊ तबेलाभित्रको बन्द कोठामा किताबहरु पढेर बिताउछ ।

कथाका पात्रहरु धेरै निरही छन् । कथाको पहिलो दृश्य नै मेटहफोरिक छ, जहाँ लेनी हरियो लेउ लागेको पानीलाई घोडाले झैं फ्वाँ फ्वाँ पार्दै मुख गाडेर तन तन पारिदिन्छ । कृषिफर्ममा पनि उनीहरु विवश छन् मालिकको गाली खान, कर्लीको दमन सहन र उसकी श्रीमतीको अश्लिल हर्कत र आग्रहलाई नजरअन्दाज गर्न । यो कथाको पृष्ठभूमि नै त्यसबेलाको अमेरिकी समय र समाजमा उनिएको छ कि जब देशभरि महामन्दि व्याप्त थियो, रोजगारको कमी थियो अनि आर्थिक संकटले सम्पूर्ण अर्थ व्यवस्थालाई थिलथिलो पारेको थियो । त्यस्तो प्रतिकूल परिस्थितिमा हुर्कने सपना र तिनीहरुले बाँचेको जीवन कस्तो होला ? सजिलै अनुमान लगाउन सकिन्छ ।  अहिले कोरोनाको महाव्याधिपछि संसारभर देखिएको आर्थिक संकटमा, लकडाउनले मानिसहरुमा पारेको मानसिक यातना र सामाजिक अस्थिरताको प्रभाव यही कथाको घटनाक्रम दोहोरिने निश्चित छ ।

 अन्तमा,
जम्मा १६४ पृष्ठको यो उपन्यास एकै बसाइमा पढिसिध्याइन्छ । यो पुस्तक अङ्ग्रेजी भाषामा सन् १९३७ सालमा प्रकाशित भएको थियो भने “ अफ् माई एण्ड मिन” शीर्षकमा सन् १९३९ मा हलिउडमा फिल्म पनि बनाको थियो ।

लामो समयदेखि नेपाली भाषामा छापिएको फरक तर अब्बल कृति पढ्न पाइएको थिएन, जुन यो पुस्तकले पूरा गरेको छ । नेपाली साहित्यमा अनुवादित कृतिले पनि नेपालि मौलिकपनलाई टपक्क टिपेर हरेक पाठकको मनलाई छाम्न सक्छ भन्ने कुरामा “मुसा मानुष” एक कोसेढुङ्गा साबित हुनेछ ।


" Of MICE AND MEN"  को नेपाली अनुबाद हो "मुसा  मानुस" जसका लेखक हुन गनेश पौडेल । यस पुस्तकलाई बुक हिल पब्लिकेशनले बजारमा ल्याको छ । यसको मुल्य रू ३५० रहेको छ ।





No comments:

Post a Comment