Tuesday, July 26, 2022

"MERO EUTA SATHI CHAA" by Pradip Devkota "Musafir" “मेरो एउटा साथी छ” -प्रदिप देवकोटा ‘मुसाफिर’

Part 2


जीवनमा पहिलो पटक कसैको अगाडी मलाई जागीर देऊ भन्न गएको थिए ।



मेरो नाम सरिता श्रेष्ठ हो, सबैले मलाई सरू भनेर बोलाउछन् । मलाई सरू भनेकै मन पर्छ । म एक प्राईभेट स्कुलको प्राईमरी लेभलको एक सामान्य टिचर हुँ । मैले प्लस टु सकाएपछि घर नजिकैको एउटा स्कुलमा टिचिङको लागि ज्वाईन गरे । साना साना नानीबाबुहरूलाई पढाउने बच्चै देखिको रहर थियो, अलि ठुली भएपछि बाबा आमासँग पकेट मनि माग्न पनि गाह्रो लाग्न थाल्यो । घरमा त्यतिकै बस्नु भन्दा त केही जागिर पाएभने गर्नु पर्ला जस्तो लागेको थियो त्यहिबेला आफुले चिनेको एकजना साथीबाट एउटा स्कुलमा भ्याकेन्सि खुलेको कुरा सुने । त्यसपछि म बिहान व्याचलर पढ्न कलेज जानथाले र दिउँसोको खालि समयमा म स्कुलमा पढाउन थाले ।

कहिलेकाहीँ घर तिरका भाई-बहिनिहरुलाई बेलाबेलामा टिउसन पढाएपनि यसरी दिनभरी पुरै कक्षालाई पढाएको अनुभब म सँग थिएन । जागिरको लागि इन्टरभ्यू दिन जादाँ पनि मनमा डर लागि रहेको थियो । कतै मैले पढाउन सकिन भने वा मैले पढाएको भएन भनेर जागिरबाटै  निकालिदिए भने म के गर्थे होला । मनमा डर भएपनि आफ्नो सटिफिकेटहरु बोकेर म स्कुल गएको थिए ।

जीवनमा पहिलो पटक कसैको अगाडी मलाई जागीर देऊ भन्न गएको थिए । स्कुलमा पुगेपछी जब त्यहाँको सर म्यामलाई भेटे मेरो डर बिस्तारै हराउदै गयो । उहाँहरूले मसँग एकदमै इनफर्मल तरिकाले कुराकानीले गरिरहनु भएको थियो । मलाई त आज पहिलो पटक यो स्कुलमा आएको जस्तो फिल नै भएन ।

स्कुलमा मैले पढाउनु पर्ने विषय र मेरो समयको बारेमा कुराहरु भएपछि अन्तिममा स्यालरीको कुरा आयो। मैले “स्कुलको जे जस्तो नियम छ त्यहि अनुसार दिनु” भने । स्यालरी मैले आशा गरेको भन्दा पक्कै कम थियो तर उहाँहरूले म प्रति गर्नुभएको व्यबाहारले मेरो मन जित्यो र म भोलिबाट त्यस स्कुलको अफिसियल रुपमा टिचर भए ।

स्कुलमा सुरुका दिनहरूमा मैले फरक महसुस गरे । स्कुलमा म नयाँ थिए । त्यहाँ मैले चिनेका न कोहि टिचरहरू थिए न त विधार्थीहरु नै । बिहान दश बजे देखी बेलुकी चार बजे सम्म छ वाट पिरियड हेर्नु पर्थ्यो मैले । रुटिन अनुसारको आफ्नो कक्षामा गयो, सेलेबस अनुसारको पाठ पढायो, नोट कपि चेक गर्यो र साझ घर फर्कियो । मेरो दैनिकी यसरी नै चलिरहेको थियो ।

म सकेसम्म नयाँ ठाऊमा नयाँ मान्छेहरू सँग छिट्टै घुलमिल हुन मन पराउदिन । मलाई केही समय लाग्यो नयाँ वातावरणमा एटजस्ट हुन तर अहिले मेरो जब नै यस्तो थियो कि सबैसँग नबोलि सुखै थिएन । मलाई यो जबले मान्छेहरूसँग घुलमिल हुन र हाईहेल्लो गर्न सिकायो र बिस्तारै बानी पनि पर्दै जान थाल्यो ।

दिन प्रतिदिन बच्चाहरू पनि मसँग नजिक हुन थाले । म उनिहरूलाई आफुतिर आक्रषण गर्न सधै केही नयाँ कुराहरू सिकाउने, कहिलेकाहीँ कविता, जोक्सहरू भनिदिन थाले । यसरी यो स्कुलमा आएको तीन महिना पछि मात्र मैले आफुलाई यहाँको माहोलसँग एट्जस्ट गर्न सके ।

स्कुलको नियमित स्टाफ मिटिङ्ग हरेक महिनाको अन्तिम शुक्रबार बस्ने गर्थ्यो । यो  स्कुलमा आएपछिको मेरो यो तेस्रो स्टाफ मिटिङ थियो । मिटिङ्मा सबैले आफ्नो कक्षामा भएका समस्याहरू स्कुल प्रसाशनलाई सुनाउथे र प्रसाशनले पनि अर्को महिनासम्म के-कति गर्न सकिन्छ, त्यहि हिसाबले प्लान बनाउने गर्थ्यो । मिटिङमा प्राईमरी लेभलका बच्चाहरुलाई बेलुकी एक घन्टा टिउसन पढाउने कुरा ऊठ्यो । पढाउन त पढाउने तर कसले पढाउने । त्यहाँ बेलुकी टिउसन पढाउन कोहि पनि ईच्छुक हुनुभएन । अन्तमा ईन्चार्ज म्यामले मलाई हेर्नु भयो । मैले कुरो बुझिहाले , उहाँले मलाई “तिमी पढाउछौ त ?” भनेर सोध्नु भएको थियो । मैले टाउको हल्लाउदै “हुन्छ नि त” भने । त्यसपछि मैले चार बजेपछि पनि थप एक घन्टा टिउसन पढाउन सुरु गरे ।

मलाई दिनभरीको छ वटा कक्षाहरू पढाउन गार्हो भईरहेको थियो । बिहान स्कुल छिरे देखी एक सेकेण्ड पनि फुर्सद हुदैनथ्यो । होम-ओर्क कुनबेला चेक गर्ने, डायरी साईन कुन बेला गर्ने, खाजा पनि त खानै पर्यो । म त बेलुका सम्म थाकिसकेको हुन्थे । निधारपनि टनटन्ति दुखिरहेको हुन्थ्यो, स्वर पनि बसेको हुन्थ्यो । कुन बेला छुट्टी हुन्छ र घर गएर सुतौला जस्तो भएको बेला झन एक घन्टा थपिएको थियो । जागीर खान भनेर आएपछि आफुलाई जिम्मा दिएको काम पनि गर्नै पर्यो । म सकि नसकि बेलुकाको टिउसन पनि पढाउन थाले ।

टिउसनमा बिस्तारै बच्चाहरू बढ्न थाले । सुरू सुरूमा पाँच सात जाना मात्र थिए पछि त बढेर बिस बाइस जाना पुगे । दिउसो एक पटकमा एउटा मात्र कक्षालाई पढाउन सजिलो हुन्थ्यो, अहिले टिउसनमा त एक कक्षा देखि पाँच कक्षा सम्मका बच्चाहरू थिए । सबैलाई एकै ठाँउमा राखेर पढाउन कति गार्हो हुन्छ होला, तपाई आफै सोच्नुस् त ।

आफुलाई पढाउन गाह्रो भएको कुरा इन्चार्ज म्यामलाई राखे । उहाँले पनि राम्रै कुरा गर्नु भयो । “तपाईलाई गाह्रो भएको कुरा स्कुल प्रशासनले बुझेको छ तर भन्ने बित्तिकै टिचर पाउन गार्हो छ, एक हप्ता जति कुर्नुपर्छ होला, त्यतिनजेल सम्म मिलाएर पढाउनुस्” भन्नु भयो ।

पढाउने भनेर मात्रै पनि भएन । त्यति धेरै बिध्यार्थीहरुलाई पढाउन कहाँ सजिलो थियो र । फेरी भोलि अभिभाबकहरुले पढाएको भएन भनेर मलाई कम्प्लेन गर्न आउन सक्छन् । मलाई भित्र भित्र रिस उठिरहेको थियो । बेकारमा यो स्कुलमा पढाउन आएछु जस्तो पनि लागीरह्यो ।

No comments:

Post a Comment