Thursday, July 14, 2022

JHARI: New Nepali Novel ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

 "झरी " Part 2




...भेटेको केहिपलमै एक अपरिचितसँग यति नजिकको महसुस कसरी गर्न सकिन्छ ?यस्तो लाग्दै थियो यो केटीलाई मैले चिनेको छु, कतै देखेको छु।...

झरी अझै थामिएको थिएन । बालाजु बस स्टपको त्यो सानो ठाँउमा धेरै यात्रुहरू कोचिएकाले म अलि पर छाता ओढेरै उभिरहेको थिए । बसहरू अक्कल झुक्कल मात्र आइरहेका थिए । एउटा बस बेपत्तासँग हुँईकिएर आयो । सडकाम जमेको पानी दुईहात परसम्म उछिटियो । खलासिले ढोका खोल्यो । यात्रुहरू महुरीको हुल जसरी भुनभुनाउदै ढोकामा कोचिए । सिट खाली थिएन तर खलासीले पुरै गाडी रित्तो भएजसरी यात्रुहरुलाई बोलाईरहेको थियो । छिटपुट मान्छेहरू बाहेक अधिकाशं मानिसहरु चढे । भिडमा कोचिएर यात्रा गर्नु मलाई मन पर्दैन त्यसैले म चुपचाप उभिरहे ।



बस स्टपमा यात्रुहरूको भिड पातलिदै गएपछि बल्ल पो मैले एउटा दृश्यलाई नोटिस गरे । अन्दाजी सोह्र वर्षकी एक युवती झरीमा आफ्ना दुबै हात फिजाँएर पानीको स्पर्शमा रमाईरहेकी थिई । उसका आँखाका परेलाहरू बन्द थिए र अनुहार आकाश तिर फर्किएका थिए । ऊ सेतो टि-सर्ट र निलो टाईट जिन्स प्यान्टमा सजिएकी थिई। लामा केशराशीबाट सेता मोतीका दाना जस्ता पानीका थोपाहरू तप्प-तप्प तलतिर झर्दै थिए ।

छेवमै बजेको बसको हर्नले मेरो एकाग्रहलाई भङ्ग गर्दियो । घडी हेरे । समय घर्किसकेछ । म बसभित्र छिरे र झ्यालको सिट खोजेर बसे । झ्यालको सिसामा पानीको थोपाहरु जम्मा हुदै र बग्दै थिए । एउटा पानीको थोपो अर्को सँग मिल्थ्यो र झन ठुलो बन्थ्यो । आफ्नो आकार ठुलो भएपछी त्यो गुड्गुडिएर तलतिर झर्थ्यो । यी पानीका थोपाहरूले अघि झरीमा रुझिरहेकी युवतीको याद दिलायो । झ्यालको सिसा खोलेर बाहिर हेरे । उ अघि उभिएकी ठाँउमा थिइन । मन थकथक भइरह्यो । केबल एक चोटि उसलाई हेर्न आँखाहरू तिर्खाइरहे ।

“कस्लाई खोज्दै हुनुहुन्छ ?” सुरिलो आवाजले मेरो आँखालाई फेरी गाडीभित्र फर्किन बाध्य बनायो । उनको त्यो लामो केशराशी, घुँघुरिएका कपाल र नागबेली परेर बगेका ति मोतिका दानाहरू । मेरो अगाडी त्यहीँ आकृति उभिएको थियो जस्लाई म बहिर खोजिरहेको थिए । उ मेरो सम्मुखमा थोरै झुकी र झ्याल तिर ईशारा गर्दै सोधि, “ म झ्याल तिरको सिटमा बस्छु नि है ।”

मैले उनको अनुरोधलाई स्वर्कानै पर्यो । सायद उनको ठाँउमा अरु कोहि हुन्थ्यो भने म अस्वभाबिक तरिकाले रिसाउने थिए होला वा आँखा तर्दै भन्ने थिए, “यो ठाँऊ तेरो बाउको बिर्ता हो र तँलाई छोड्नु ।”

आफु बसेको ठाँउबाट म उठेर छेऊ तिर सरे र गोडालाई सिटमुनि छिराए । उनको हेराइले मलाई असहज भनायो सायद म उठेर सिट बाहिर निस्कनु पर्थ्यो होला पुरुष हुनुको अहमले मलाई रोक्यो । बढो होसियारीको साथ उ सिट भित्र छिरी । छिर्दा उनको नितम्बनले मेरो शरिरलाई स्वाभाबिक तबरले स्पर्श गरे । उनको शरीरबाट आएको पर्फुमको वास्नाले मेरो मनलाई उदेलित बनायो ।

उनले आफ्नो झोलाबाट चस्मा झिकिन र सानो कपडाको टुक्राले पुछ्न थालिन् । गोलो फ्रेमको पावरदार चस्माबाट उनको ठुला-ठुला आँखाहरु प्रश्टसँग देखिए । मोबाईलको रिङ्टोन बज्यो । मैले हतपत प्यान्टको गोजिमा हात हाले । मोबाइल हेरे । त्यो शुन्य थियो । उनले आफ्नो झोलामा हात छिराईन् । फोन उनको आएको रहेछ । एक छिन कुराकानी गरेर फोन राखिदिईन् । म खिस्रक्क परे । उनको हातको मोबाईल हेरेर भने “  म झुक्किएछु । हाम्रो रिङ्गटोन एउटै रैछ ।”

आफ्नो घटिया जबाफले आफै लज्जित भए । उनलाई कसरी थाहा हुन्छ कि मेरो रिङ्टोन ठ्याक्कै उन्कै जस्तो छ भनेर । बोलि मुखबाट फुस्किसकेको थियो । बन्दुकको नालबाट निस्किएको गोलि र मुखबाट निस्किसकेको बोलिलाई फिर्ता गर्न सकिदैन् ।

“ खै हजुरको नम्बर दिनुस् त । म चेक गर्छु ।” उ खितखिताई ।

मेलै आफ्नो नंम्बर दिए । मेरो मोबाइलको स्क्रिनमा उनको नंबर देखियो । उनले फुल रिङ दिईन् । उनलाई मेरो कुराको बिस्वास भएछ । मलाई हेरेर मुस्कुराईन् । मेलै पनि जितको खुसी मनाए तर मनमनै । उनको नम्बर सेभ गरू कि राखुँ भयो । नाम थाहा थिएन । नंम्बर पाए भन्दैमा नाम सोधिहाल्न सकिन । पछि फोन गरेर सोधौँला । अहिलेलाई सेभ गरे ‘झरी’ भनेर ।

गाडी कलेज अगाडी रोकियो । म झर्न हतारिए । खलासीलाई भाडा दिदाँ चेञ्ज छैन भनेर किचकिच गर्न थाल्यो । मसँग जे थियो त्यो दिए बाँकी मिलाउने काम उसको हो ।

पानी उस्तै अनबरत परिरहेको थियो । बसुन्घरा चोकमा झर्नै म मात्रै थिए होला, खलासीले पैसा फिर्ता नदिदासम्म म छाता ओढेर सडक छेउमै उभिरहे । गाडीबाट त्यहि चस्मिस केटी झरी जसले झ्यालपट्टीको मेरो सिट कब्जा गरेकी थिई । उ रुखको ओत लागेर उभिइ र मुस्कुराउदै मैले खलासिलाई दिएको पैसा पो फिर्ता गरिन् ।

“मेरो भाडा कस्ले तिर्यो ?” उनको हात बाट पैसा लिदै सोधे ।

“सम्झनुस् तपाईको कुनै पुरानो साथीले तिरीदियो ।” चस्मा भित्रबाट उनले आँखा झिम्काइन् ।

मेलै बुझिहाले। पैसा यहि केटीले तिरेकी थिई ।

हातको इसाराले आफु रोड पारी जान लागेको संकेत गरे । उनि फुरूक्क पुतली जसरी उडेर मेरो छेउमा आईन् । मेलै यौटा हातले छाता समाते र अर्को हातले सडकामा बेपत्तासँग गुडिरहेका गाडीलाई रोक्ने प्रयास गरे । एउटा सानो छातामा दुईजना ओत लाग्न सम्भब थिएन तर पुरानो साथी भनेर परिचय गराईसके पछि साथिलाई सकुशल पारी पुर्याउनु मेरो धर्म थियो ।

हामी एक आर्कालाई छोइन्छ कि भनेर एक निश्चित दुरीमा बसेका थियौँ । छड्के परेको पानीले ऊनलाई ज्यादा भिजाएछ क्यारे, छाता समाईरहेको मेरो हातलाई उनले आफुतिर ढल्काईन । छाता अलि बढिनै ढल्कियो । मैले आफुलाई जोगाउन फेरी छातालाई आफुतिर ढल्काए । यसरी पानीबाट आफुलाई जोगाउने कोसिसमा छातालाई कहिले यता, कहिले उता ढल्काउदा हामी दुबै जना आधा-आधि भिजिसकेका थियौँ । हामीसँग एउटै बिकल्प थियो जति सक्दो आफुलाई सानो छाताको वरिपरि राख्ने । लज्जाले, धकले हामीलाई टाढाटाढा राखेपनि यो झरीले नजिक बनाउदै थियो र अन्तमा त्यो दुरी शुन्यमा सकियो ।

कलेजको गेटमा पुगेपछी म केहीबेर रोकिए किनकी मलाई थाहा थिएन उनी कता जादैँ थिईन । म त्यसरी उभिएको देखेपछि उनि मबाट छुटीएर मेरै कलेज भित्र छिरिन् । उनि गएको हेरिरहे । एकै छिनको मिठो साथ छुटेकोले मन खिस्रिक्क पर्यो ।

कलेजमा मानिसहरूको भिड बाक्लो थियो । भिडहरूलाई छिचोलेर म स्टाफ रुममा पुगे । सबै चिनेजानेका सरहरू हुनुहुन्थ्यो । सबैलाई नमस्कार गरे । आजको एक्जामको बारेमा मोटामोटी जानाकारी पनि लिए । एक्जामको समय हुनै लागेको थियो रमेशसरको पछि लागेर म एक्जाम हल तिर लम्किए ।

खाली बेञ्चहरू देख्दा मेरा यादहरू ताजा भइरहेको थियो । दुईवर्ष सम्म यिनै बेञ्चहरूमा बसेर पढ्दा त्यस्तो आत्मिय महसुस कहिल्लै भएको थिएन तर आज यसरी आफुलाई पाउदा मेरो अनुभुति बेग्लै थियो ।

घन्टी बज्यो । हेर्दाहेर्दै पुरै बेञ्चहरु भरिए । म आफुलाई त्यहाँ उपस्थित अनुहारहरुमा खोजिरहेको थिए । रमेश सर चिया खाने वाहाना क्यान्टिन तिर जानुभयो । म एक्जामका प्रश्नहरू पढ्दै आफैलाई  चेक गरिरहेको थिए ।

बाहिर पानी पर्न केही मथ्थर भएको थियो । हावाको एकझोक्का सर्रर कोठा भित्र छिर्यो । चिसो हाबामा बेग्लै सुगन्ध थियो । एक मुठ्ठी हावालाई फोक्सोमा भरे र बाहिर फ्याँके । त्यो हावामा एक परिचित सुगन्घ महसुस गरे जस्लाई मैले कतै भेटेको थिए । कतै सुग्घेँको थिए ।

वास्नालाई पछ्याउदै गए । हावाको बहावमा फर्फराउदै गरेको कपाल र चश्मालाई आँखाको डिलमा मिलाउदै उनि प्रश्नको उत्तर खोजिरहेकी  थिईन् । उनि त्यहि केटी थिईन जस्लाई मैले केही समय पहिले गाडीमा भेटेको थिए । उनलाई त्यसरी आफ्नो अगाडी देख्दा पनि मेरो मन खुसिले उफ्रिन थाल्यो । तर किन ?

भेटेको केहिपलमै एक अपरिचितसँग यति नजिकको महसुस कसरी गर्न सकिन्छ ?यस्तो लाग्दै थियो यो केटीलाई मैले चिनेको छु, कतै देखेको छु। खयर जेहोस् म आफ्नो भ्रमको पहाड चढ्दै गए ।

परिक्षाको समय सकिएको घन्टी बज्यो । सबैले आ-आफ्नो पेपर बुझाउदै बाहिर निस्किए । कोठा खालि हुदै थियो । केही भने अझै घोप्टिएर लेखिरहेका थिए । मैलै समय सकिएको कुरा दोहोर्यापछि सबै उठेर आए । जब आफ्नो पेपर दिन उनले मलाई हेरिन्, उनी तिनछक्क परिन् । म उनको अगाडी यसरी आईपुग्छु भन्ने उनको कल्पना भन्दा बाहिरको दृश्य थियो । मेलै उनको हातको पेपर ताने र धन्यवाद भने । उनि लुरुलुरु बाहिर गईन । उनको नाम हेरे । आर्या शर्मा रहेछ । ढोकाबाट बाहिर निस्कदा उनले एकपटक फेरी पुलुक्क मलाई हेरिन् । उनलाई अझै विस्बास लागेको थिएन ।

सबै पेपर स्टाफ रुममा बुझाएर म क्यान्टिनमा पसे। बिहानको खाना कलेजले नै खुँवाउदै  थियो । खाना खाँदा पनि उनको मुहार झलझली दिमागमा आइरह्यो । नामलाई सयौँ पटक सम्झने कोशिश गरे । अहः सम्झन सकिन । अनुहार देखे जस्तो चिने जस्तो लाग्छ तर यो नामको कुनै मान्छे आजसम्म मैले भेटेको छैन ।

आकाश हलुका खुलेको थियो । बादलभित्रबाट घामका सुनौला किरणहरु पृथ्वीमा झरेका थिए । कलेजबाट बिदा भएर म सरासर बाहिर निस्किए । सडक छेउ एउटा गाडी यात्रु कुरेर बसिरहेको थियो । म हतार हतार गाडितिर लम्किए । गाडी त बिस्तारै गुड्न थाल्यो । चिफ्लोबाटोमा पाइला छिटोछिटो चाल्दै गाडीमा उक्किए । राम्रोसँग सिटमा बस्न नपाउदै गाडी हुँइकिन थाल्यो । केहिबेरमै मलाई बालजु चोकमा झारेर गाडी स्वयम्भु तिर अलप भयो ।

***

No comments:

Post a Comment