Sunday, July 10, 2022

लज्जा : a High School Love Story by Pradip Devkota 'Musafir'

 लज्जा

जब हामी देउरालीबाट तल झर्थ्यौ तब उनी मलाई सधै जस्तो भन्ने गर्थिन "तिमी अगाडी हिंड न।"

म पनि के कम थिए र उनको आग्रहलाई फिँस्स हाँसेर टारी दिन्थ्ये र भन्थे, "मलाई तिम्रो पछाडी हिँड्न नै मन पर्छ।"

मेरो जिध्दिको अगाडी उनको केही लागेन र सधै म उनको पछाडी हिंडिरहे छाँया जस्तो बनेर ।

जब दोबाटोको चौतारीमा आईपुग्थ्यौ, हामी दुई एक्लै हुन्थ्यौँ। यहि नै थियो मेरो यात्रा भरीको उनी सँगको एकान्त । स्कुलबाट सँगै हिँडेका साथीहरू आ-आफ्नो घर तिर लागेपछि पनि हामी त्यहि चौतारीमा सुस्तउदै बस्थ्यौँ । हामी बिच शब्दमा कुराहरू कम हुन्थे तर आँखाहरू बोलेर कहिल्लै थाक्दैनथे ।



चौतारीबाट ओराली झर्दै गर्दा कहिलेकाही सल्लाघारीबाट आउने बैशालु हावाले उनको फ्रक फुर्र उडाउथ्यो। उनि सकि नसकी मयूरको प्वांख झै उडेको आफ्नो फ्रकलाई समाल्ने असफल प्रयास गर्थिन अनि केही नलागे पछि उनि पछाडी फर्केर रिसाउदै आँखा तर्थिन। म उनका ति ठुलाठुला गाजलु आँखा र यौवनले मस्त रंगिएका राता गालाहरू देखेर मुर्छा पर्थे। उनि फेरि मलाई आगाडी हिड्न आग्रह गर्थिन तर म फिस्स हाँसेर टारिदिन्थ्ये।

***

स्कुल जाँन उनि सधै बिहान घरबाट छिटो हिड्थिन तर म घरको कामले अल्झिरहन्थे । स्कुलमा पहिलो उपस्थिति उनको हुन्थ्यो सायद तर म प्राथना सभा सकिएर पहिलो घन्टिको आधाआधिमा शरिर भरी पसिना र आँखा भरी डर बोकेर बतास जसरी कक्षाको ढोकामा उभिन्थे।

दिनभरी कक्षाहरू जसरी तसरी बित्थे। बेलुका घर फर्कने बेला म सबैभन्दा पहिला ढोकामा उभिन्थे र उनी गऍ नगऍको हेरी बस्थे। सबैसंग छुट्टिएर उनी स्कुलबाट ओरालो लागेपछि बल्ल म अरुले थाहा नपाउने गरी सुटक्क उनको पछि पुग्थे।

दैव संयोग भनु की यो चन्चले हावाको षड्यन्त्र जसै हामी सल्लाघारीको ओरालो लाग्थ्यौ तब वैशालु हावाको एक झोक्काले उनको लाजलाई फर्रर उडाउथ्यो र उनी त्यसलाई समाल्ने असफल प्रयास गर्थिन । केही सिप नलागे पछि म तिर फर्केर लजाउदै आँखा तर्थिन । उनका ति नशालु आँखा र गुलाबी गाला देखेर म बेहोस भई जान्थ्ये त्यहि बखत ।

एक दिन त अति भयो। मैले अगाडी हिड्न नमानेपछि उनी बिच बाटोमै बसिदिईन मेरो बाटो छेकेर । म त हेरेको हेरै भऍ। न छोडी जानु उनलाई  न पर्खि बस्नु सँगै । उता उनको आँखामा आशु रसाउदै थियो यता मेरो मन भित्रभित्रै जल्दै थियो। जिध्दिको नि हद हुन्छ नि एउटा तर मैले त्यो हद धेरै पहिले पार गरिसकेको थिए।

एकाएक उनि यसरी बिचबाटोमा बसिदिए पछि म पनि बाटो बनेरै उनेकौ आडमै बस्न बाध्य भऍ। उनले आफ्नो कम्मरलाई अलि सजिलो पार्दै मेरो गोडामा आडेस लागीन। त्यहि बेला हावाले उनको कपाल उडाएर मेरो अनुहार छोपिदियो। उनको कपालबाट एक प्रकारको मिठो सुगन्ध आई रहेको थियो। सयाद त्यो कुनै सुगन्धित तेल, स्याम्फू वा उनको  शरीरको प्रक्रितिक सुगन्ध हुन सक्छ । फूलको रसमा मौरी लठ्ठिए जसरी म उनको सुगन्धमा लठ्ठ परेको थिए ।

सल्ला घारीमा हावा उसैगरी सुसाउदै थियो। म आखा चिम्लेर उनको कपालसंग खेल्दै आनन्द लिदै थिए । कतै गहिरो ईनारबाट आईरहेको उनको आवाज सुने । “तिमी मेरो अगाडी पनि नहिँड म तिमीलाई भेट्टाउन नसकुला। तिमी मेरो  पछाडी झन हिँड्दै नहिंड। म तिमीलाई सहि गन्तव्यमा पुर्याउन नसकुला । बरु तिमी म संगसगै हिंड। मेरो हात समाएर हिंड। तिमी जहाँ लान्छौ म पनि त्यहि जान्छु । तिम्रो गन्तव्य नै मेरो लक्ष्य हो तिम्रो यात्रा नै मेरो जिन्दगी हो।”

मेरो आँखा अघि देखिनै बन्द थियो । उनको केशराशी मेरो हातबाट अघिनै छुटिसकेको थियो । तातो सास मेरो अनुहारतिर बढ्दै थियो । म आँखा खोल्ने कोसिस गर्दै थिए तर गुलाफको पत्ता जस्तो सुकोमल केही तातो बस्तुले मेरो ओठलाई स्पर्श गर्यो र बिस्तारै मेरो स्वासलाई नै रोकिदियो ।

 त्यहि पल, त्यहि समयलाई म आज पनि हजारौ पटक सोचिरहेछु । जिन्दगीका केही यादगर सम्झनाहरु जस्ले मलाई बाच्ने प्रेरणा दिन्छ र आजसम्म जिवित बनाईराखेको छ, हो त्यो केवल त्यहि एक पल हो ।



हामी होसमा आउदा घाम डांडा माथि पुगिसकेको थियो। क्षितिजमा बादलका केही टुक्राहरुमा साझको मिठो सम्झना बनेर बसेको थियो । घामका किरणहरुले  क्षितिज गुलाबी रंगले लतपतिएको थियो । क्षिजित भन्दा त बढि उनको गालामा लालित्य लत्पतिएको थियो । आफुलाई सम्माल्दै उनि उठिन । उनै संगै म पनि उठे। आँखाको ईसाराले जांऊ भन्ने संकेत गरेपछि हामी हात समातेर संगसगै ओरालो लाग्यौ ।

 बैमानी हावाको के भर, फेरी हावाको एक झोक्का उसै गरी चल्यो, उनको फ्रक फर्रर मयूरको प्वांख झै हावामा फैलियो तर उनले आफ्नो लाजलाई समाल्ने अ(सफल) प्रयास गरिनन् किनकी उनको एक हातमा आफ्नो झोला थियो उनी अर्को हात मेरो हातमा।

 

  समाप्त।।।

2077-02-02 friday

08:08  am

 


No comments:

Post a Comment