Monday, August 1, 2022

"MERO EUTA SATHI CHAA" by Pradip Devkota "Musafir" “मेरो एउटा साथी छ” -प्रदिप देवकोटा ‘मुसाफिर’

 Part 8

 सायदै जीवनमा मैले पार्वतीलाई जस्तो मायाँ अरू कसैलाई गर्न सक्छु होला ।



स्कुल छुट्टीको दिन थियो । मम्मि र म घरको लागि सामान किन्नलाई बजार जादै थियौँ । घरबाट बाहिर निस्केदेखि नै हामीलाई कसैले फलो गरिरहेको जस्तो लागेको थियो । मैले हरेक चोटी पछाडी फर्केर हेर्दा कोही त हामीलाई कतै भिडमा लुकेर हेरीरहेको छ जस्तो लागिरहेको थियो । मेरो मोबाइलमा त्यहिबेला वसन्त सरको फोन आयो । मलाई किन हो  आजभोलि कसैको पनि फोन ऊठाउन मन लाग्न छोडेको थियो । झन पार्वतीसँगको त्यो दिनको घटनाले मलाई वसन्त सरसँग बोल्नै मन थिएन । मन नभएर पनि सुख नपाईने रहेछ । मैले झर्किदै किन फोन गरेको भनेर सोधे । उहाँले मेरो कुरा सन्दै नसुनि एकोहोरो “पार्वती तिमीसँगै छ है, पार्वतीलाई फोन देउ त” भन्न थाल्नु भयो ।

 अरे बाबा, मैले पार्वतीलाई यसरी बाहिर नभेटेको पनि  महिना दिन भन्दा बेसि भइसक्यो, मैले कसरी पार्वतीलाई फोन दिने होला त । यो मान्छे साञ्चिकै पागल भएछ । उहाँ मेरो कुरामा बिस्वास गर्ने पक्षमा हुनुहुन्थेन । खालि “पार्वती तिमीसँग छ है, उसलाई फोन देउ त” मात्र भनिरहुनु भयो ।

मलाई शङ्का लाग्यो, अघि घर देखी हामीलाई पिछा गरिरहेको मान्छे वसन्त सर नै हुनुहुन्थ्यो सायद उहाँले पछाडीबाट मेरो मम्मिलाई पार्वती सम्झिनु भएको होला । मैले रिसाउदै भने, “तपाईलाई लाज लाग्दैन है दिनभर अरुको चियो,चर्चो गर्दै हिड्न । कैले देख्नु भो मलाई पार्वती सँग ? तपाईको आँखा फुटेको छैन भने अगाडी आएर हेर्नु नि पार्वती हो कि  अरु कोही हो मसँग हिड्ने ।”

आफुले फलो गर्दै हिडेको कुरा मैले थाहा पाएपछि उहाँ केही नर्भस हुनुभयो, “पार्वतीको फोन लागेन, तिमी सँग छिन कि भनेर फोन गरेको ।”

“तपाईलाई अलिकति पनि लाज लाग्दैन, केटा मान्छे भएर पनि के स्त्री लम्पट  हुनुभएको । केटी मान्छेको गन्ध नसुधिँ बाच्नै भइसक्नु भो । पार्वती बिना एकपल पनि बाँच्न नसक्ने भए बिहे गरेर घर भित्राए भैहालो नि । तपाईको प्रेमिकाको हालखबर राख्दै हिड्ने हुलाकी होईन म । अब देखी मलाई फोन गर्नु भयो भने राम्रो हुदैन, बेलैमा ख्याल गर्नु होला ।” मेरो रिसको पारो यति चढेको थियो नि, मैले उहाँलाई भन्न हुने नहुने सबै भनेछु ।

मेरो कुरा मम्मिले पनि सुनिरहुनु भएको रहेछ । मैले उहाँलाई मेरो र पार्वतीको बारेमा भएको सबै कुराहरू भनिदिए । उहाँले लामो सास तानेर भन्नु भयो, “एउटै आमाले पाएका दिदिबहिनी त सँगै मिलेर बस्न सक्दैनन, सौता हाल्न जान्छन्, त्यो त झन पराईकी छोरी, भो बिर्सिदे त्यसलाई ।”

मम्मीले भनरको कुरा मलाई पनि हो जस्तो लाग्यो । आखिर हाम्रो अबस्था पनि त्यस्तै थियो । साझ पार्वतीले मलाई फोन गरि र आज दिउसो भएको कुरामा झगडा गर्न थालि । मेरो के दोस थियो होला र, उ मसँग यसरी बाझिरहेकी थिई की सबै गल्ति मेरै थियो । मैले पनि पार्वतीलाई जे हो त्यहि भनिदिए । उसले हाम्रो सम्बन्धका पुराना कुराहरू झिकेर निउ खोज्न थालि । मैले भुलिसकेका पुराना अतितहरूलाई उसले फेरी त्यो दिन बल्झाईदिई ।

 मैले कति बिस्वास गरेर उसलाई आफ्नो मनको सबैकुरा हरू सेयर गरेको थिए, उसले त मेरो त्यहि कम्जोरीलाई हतियार बनाएर मै माथी प्रहार गर्न थालि । त्यपछि मेरो पनि रिसको सिमा रहेन । मैले पनि आफ्नो मनमा गुम्सिएर रहेको कुण्ठाहरु सबै भनिदिए । मलाई थाहा थियो, आज मैले उसलाई मेरो कुरा भनिन भने सायद भोलि देखी उसले मेरो कुरा सुन्ने छैन ।

मैले उसलाई सब कुरा भनिदिए कसरी उसलाई वसन्त सरले फसाईरहेको छ, कसरी हाम्रो मित्रतामा फाटो ल्याउने काम गरिरहेको छ । उसले मेरो कुरामा एक प्रसेन्ट पनि विस्वास गरिन । उ त वसन्त सरको माँयामा अन्धो भएकी थिई । उसले हिजो भर्खर भेटेको केटाको लागी हाम्रो वर्षौ पुरानो मित्रतालाई बिर्सिएकी थिई । त्यसदिन जे भयो, त्यो हाम्रो फ्रेण्डसिपको सबैभन्दा कालो दिन थियो । त्यसदिन देखी उसले पनि मलाई कहिल्लै फोन नगर्ने घम्कि दिई, मैले पनि अब उसँग नबोल्ने वाचा गरे ।

स्कुलमा मेरो अबस्था फेरी पहिलेको जस्तै भएको थियो । म फेरी एक्लो भएकी थिए । बिहान स्कुल जाने, दिनभरी चुपचाप पढाउने र साझ एक्लै घर फर्कने । कहिले काँही अरु टिचरहरुले सोध्थे, तिम्रो र पार्वतीको झगडा परेको हो भनेर, म केही नभनि त्यहाँबाट हिडिदिन्थे । कहिले काँही मन थाम्नै नसक्ने गरी भारी हुन्थ्यो, अनि म बाथरुमा गएर धित पुग्ने गरी रोइदिन्थे । स्कुलमा पार्वती र वसन्त सरको प्रेमको चर्चा मात्र होईन बदनाम पनि हुन थालेको थियो किनकी उनीहरू सार्बजनिक रुपमै आफुलाई प्रेमी प्रेमिका घोसित गरिसकेका थिए र हर्क पनि त्यस्तै देखाउन थालेका थिए ।

मैले कतैबाट हल्ला सुने अबको नयाँ सेसनमा उनिहरु दुबैजना स्कुल छोडेर जादै छन् भन्ने । बाहिर जाति नै रिस ऊठेपनि भित्री मनमा उसले स्कुल नछोडेनि हुन्थ्यो जस्तो लागेको थियो । मेरो हालत यस्तो थियो कि न म उसलाई टाढा गएको देख्न सक्थे, न सँगै बसेको हेर्न । नजिक हुँदा रिस ऊठ्थ्यो अनि टाढा हुदा उसको यादले सताउथ्यो।

मेरो बर्थ डे, आयो, गयो । मलाई कसैले पनि बर्थ उईस गरेनन् त्यो दिन । अरुले नगरेपनि पार्वतीले चाही एक कल फोन वा ह्यापि बर्थ डे लेखेर एउटा म्यासेज भएपनि पठाउछे होला भन्ने सोचेकी थिए । त्यस्तो केही भएन, मेरो बर्थ डे आएको नआएको कुनै मिनिङ भएन ।ऋतु फेरिन समय लाउछ होला तर एकै वर्षमा सम्बन्धहरु पनि फेरिदा रहेछन् । म रात भर रोए । पार्वतीसँगका ति मिठा पलहरु सम्झेर रोए । उसँगका यादहरुलाई आशु बनाएर बगाए । म यति धेरै रोए कि मेरो आँखामा आशु रित्तिए तर मनको पिडा रित्तिएन। त्यसपछि म आशु नबगाई  रोए । म जीवनमा पहिलो पटक यति धेरै रोए र सायद अन्तिम पटक रोए पार्वतीको लागि ।

अर्को बैशाखको पहिलो सेसनमा फेरी केही नयाँ टिचरहरु थपिएका थिए । वसन्त सर, पार्वती र अरु दुईजानाले स्कुल छोडेर जानु भएको रहेछ । पार्वतीलाई स्कुलमा नदेखेर मन दु;खी भयो तर अर्को मनले सोच्यो पार्वतीले स्कुल छोडेर ठिक्कै गरिछ, कमसेकम उसको अनुहार त हरेक दिन देख्नु पर्दैन मैले । यो मनमा वर्षौ देखि बिझेको काडाँ झिके जस्तो हल्का फिल भयो ।

बैशाखको मध्ये तिर स्कुलमा फेरी पार्वती र वसन्त सरको कुरा चल्यो । उनीहरु दुबैजनाले बिहे गरेछन् । फेसबुक भरी बिहे र शुभकामनाका फोटाहरू छरपस्ट थिए रे । मैले आफ्नो फेसबुकमा उनिहरुलाई सर्च गरे, कुनै रिजल्ट आएन । दुबैजनाले मलाई ब्लक गरेका रहेछन् । सम्बन्धमै फाटो परेपछि फेसबुक नाथेमा ब्लक हुनु कुन चाहिँ ठुलो कुरो भयो र । मैले आफ्नो मनलाई समाले ।

घरमा मम्मीले पनि थाहा पाउनुएछ । उसलाई त मम्मीले आफ्नै छोरी मान्नु भएको थियो, म सँग समस्या थियो होला, मेरो गल्ति थियो होला तर मेरो मम्मीको त केही गल्ति थिएन नि । एक बचन बोलाएको भए उसको के जान्थ्यो होला, आमाको मन न हो, आशा त लागी हाल्छ नि । बिति सकेको कुरालाई सम्झिएर केही हुनेवाला थिएन । यस्तै हो मम्मी सम्झिनेले नसम्झिएपछि हाम्रो के लाग्दो रैछ र । पार्वती हाम्रो आँखामा थिई, मेरो मुटुमा थिई तर आज त्यहि मुटुमा घाउ बनाएर गई । बैगुनिले मुटु चिरा पारेर गई ।

उसँग भेट नभएको, उसलाई राम्रो सँग नदेखेको पनि आज दुई वर्ष भई सकेछ । आज मसँग उसका यादहरु बाहेक सम्झनको चिनो अरु कुराहरू केही बाँकी छैनन् । सुरुको दिनहरुमा आफुलाई समाल्न गार्हो पक्कै भएको थियो, तर अहिले सम्झदा खुसी लाग्छ कि मेरो पनि दुनिँयालाई सुनाउन लायक कथा रहेछ जीवनमा ।

बिहे पछि उसको जीवन कस्तो भयो वा हुदैछ थाहा छैन । बिहेको शुभकामना पनि दिन पाएको थिईन । बैगुनिलाई गुनले मार्नुपर्छ भन्छ नि, मैले पनि आफ्नो मनलाई लाख पटक सम्झाए पछी उसको बर्थ डे को दिन फोन गरे । ऊसको बोलि सुन्ने बित्तिकै मलाई पुराना कुराहरू झलझल्ति दिमागमा आईरहे । बेकारमा फोन गरेछु जस्तो पनि लाग्यो एकछिन त । सामान्य कुराहरू गरेर मैले फोन राखिदिए ।

आखिर हाम्रो मित्रतामा के कुराको कमी थियो होला, वा मैले कुन ठाऊमा गल्ति गरेको थिए होला, त्यो जान्न पाए हुन्थ्यो जस्तो लाग्छ तर बितिसकेका कुरालाई फेरी सम्झिएर मन भारी बनाउन मन छैन । अहिले वर्षमा हाम्रो मुस्किलले दुईचोटी मात्र कुरा हुन्छव। एक चोटि उसको जन्म दिनमा अनि दोस्रो पटक मेरो जन्म दिनमा ।

अहिले सम्झदा वा यो कथा लेखिरहदा पनि उसँगको मित्रतामा पछुतो लागेको छैन । अब त हामी बिचमा रिस पनि बाँकी छैन । सायदै जीवनमा मैले पार्वतीलाई जस्तो मायाँ अरू कसैलाई गर्न सक्छु होला । मलाई शङ्का छ पार्वतीसँग जस्तो मित्रता फेरी म अरूसँग जोड्न सक्दिन होला ।

जिन्दगी त धेरै लामो छ, जसरी पनि जिउनु नै छ । मेरो जीवनमा पनि सुनाउन लायक एउटा कथा छ, मेरो एउटा साथी छ, जसको कथा म आफुलाई हरपल सुनाई रहेनेछु । ईश्वरसँग मेरो एउटै प्राथना छ “हाम्रो मित्रता सधै अमर रहोस्।” 

***


घडी हेरे । रातको एक बजिसकेको थियो । सर्मिलाले आफ्नो कथा सुनाएर सकिन तर मेरो मनले अझै उनको कथा नसकिए नि हुन्थ्यो जस्तो लागि रह्यो । उनको कथा सुनिरहदा कति ठाउमा म उनको म्यासेज पढेर हाँसे, कति ठाऊमा मेरो आँखामा आशु पनि रसाए । सधै उपन्यास वा फिल्ममा मात्रै सुनिने यस्ता कथाहरू हाम्रो रियल लाईफमा पनि हुने रहेछन । वास्तवमा उपन्यासका, फिल्मका कथाहरू पनि त हाम्रै जीवनको कथाको आधारमा लेखिने न हुन् ।

 आज धेरै पछी एउटा सुन्दर कथा सुन्न पाएको थिए । यति राम्रोसँग मित्रता निभाउन सक्ने अनि आफ्नो कथा पनि सजिलै अरूलाई सुनाउने सक्ने मान्छेलाई एकचोटी जीवनमा जसरी पनि भेट्नु पर्छ जस्तो लागेको छ । पक्कै पनि उनि आफुले सुनाएको यो कथा भन्दा पनि धेरै राम्री छिन् होला ।

म्यासेन्जरको च्याट बक्समा उनको नामको हरियो थोप्लो गायब भएको थियो । उनको नाममा “एक्टिभ फायफ मिनेट अगो” लेखीएको थियो । उनि च्याटमै भएको भए “ म हजुरलाई एक चोटी भेट्न वाहान्छु” भन्ने थिए अनि उनको मित्रताको तारिफ गर्ने थिए । कास् , यस्तो फ्रेण्डसिप हामी सबैको हुनेभए ।

उनको कथाले मेरो मनलाई डिस्टर्ब गरेको थियो । म यो कथा नलेखी बस्नै सकिन । ल्यपटप अन गरे । बस्तारै स्क्रिन खुल्यो । मनमा लागिरह्यो, उनलाई जसरी पनि एकचोटी भेट्नेछु र यो कथा उपाहारमा दिनेछु । उन्डोज (windows)मा वर्ड फाईल (word file) खोले । । यो कथाको शीर्षक पो के राख्ने होला । निकै बेर सोचे । दिमागमा केही पनि फुरीरहेको थिएन । एकछिन आँखा चिम्म गरे र उनको कथा सुरु देखी सम्झन थाले । एउटा लाईनले मलाई छोयो ।

शिर्षक लेखे, “ मेरो एउटा साथी छ ।” र कथा लेख्न सुरू गरे ।    


No comments:

Post a Comment