Wednesday, August 24, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 part 4:

आकांक्षा अब सानी रैनछै भन्ने आज उसको खुलेको सुन्दरता देखेपछी मात्र थाहा पाए ।




गाँउको पधेँरो, एका बिहानै भिड हुने भईहाल्यो । पालो कुर्दा कुर्दा मेरो मुखको मञ्जन सुकेर कट्कटिएको थियो । हात खुट्टा धोए, मुख कुल्ला गरे, गाग्रीमा पानी भरिने बेलासम्म त्यसलाई हेरीरहे । गाग्रीमा पानीले हिर्काउदा मिठो संगित निस्किरहेको थियो ।

पानी भरिए पछि त्यसलाई पधेँराको डिलमा राखेर म टाउकोमात्र नुहाउनलाई टि-सर्ट खोल्दै थिए । म निहुरिएको मात्र के थिए कसैले माथीबाट भरी पानीको गाग्री घोप्ट्याईदियो  । म शिर देखी पाउसम्म भिजे । म पानीमा रूझेको बिरालो जस्तो जाडोले लुगलुग काम्न थालेको थिए । रिसको झोकमा पछाडी फर्केर हेर्दा त आकांक्षा पछ्यौराले मुख छोपेर मुर्छा परेर हाँसिरहेकी थिई ।

उसका नशालु ति आँखाहरु, गुलाबि ओठ, हाँस्दा डिम्पल गर्ने गाला । मैले आफू पानीले भिजेको पनि बिर्सिसकेछू । आकाँक्षालाई तल देखी माथी सम्म निहारे, पातालो छिनेको कम्मर, लामा लामा हात गोडाहरू मैले आजसम्म आकाँक्षालाई राम्रोसँग हेरेकै रैनछु । उसको सुन्दरताको दर्शन त मैले आज सम्म पाएकै रैनछु ।

घरबाट टाढा हुँदा, म कहिलेकाँही आकांक्षालाई सम्झन्थे, सधै स्कुल पढ्दा देखेको अनुहार मात्र दिमागमा आउथ्यो । मेरो सम्झनामा आकाँक्षा अरू युवती सरह समान थिई कुनै खास आक्रषण देख्दिन थिए । हामी एउटै गाँउमा जन्मिएर हुर्किएको भएपनि हाम्रो उमेरमा केही फरक थियो तर पनि उ मेरो सबैभन्दा मिल्ने केटी साथी थिई ।

आकांक्षा अब सानी रैनछै भन्ने आज उसको खुलेको सुन्दरता देखेपछी मात्र थाहा पाए । आज पहिलो पटक आकांक्षालाई देख्दा मेरो मनमा काउकुति लागेको अनुभब भयो । धेरै समय पछि मेरो मनमा हलचल पैदा भएको थियो । म एकोहोरो उसलाई हेरेर टोलाएको देखेर उसले एक अञ्जुलि पानी मेरो अनुहारमा फालिदिई । म फेरी नमज्जा सँग झस्किए ।

“ बल्ल खाईस, मेरो बदला बल्ल पुरा भयो ।” कुनै ठुलो युध्द जिते जसरी उ पुकलित भई ।

मैले भने “यो कस्तो बदला होला ?”

“हिजो आमाको अगाडी मलाई के भनेको थिईस ? खुब मलाई आफ्नो घरको बुहारी बनाउने भा’को ? मलाई पाउन त्यति सजिलो कहाँ छ । तेरो शहरका केटीहरु जस्ती सजिलै मानिहाल्ने सम्झीस् कि के हो मलाई ?”

“ के भन्दैछस् तँ ?यो बदला त्यसैको थियो? त्यति सानो कुराको सजाय यति धेरै ? यो त अत्ति भएन र ?”

“ तँलाई त अझै पुगेकै छैन् । मलाई फोन किन नगरेको ? थाहा छ राति बाह्र बजेसम्म तेरो फोन कुरेर बसेको थिए ,”

“फोन ? कस्लाई ? फोन गर्नलाई त मसँग तेरो नम्बर पनि हुनु पर्यो नि ?”

“हिजो बेलुका त्यो कागजमा दे’को के त? कि हेर्दै नहेरी फालिदिईस ? मलाई थाहा थियो, तँ मेरो कुराहरूलाई खासै महत्व दिदैनस् भन्ने । शहरमै राम्री राम्री तरूनिहरू हेरेको होलास्, गाँउ छोडेर जान नसकेको म जस्तीलाई के हेर्थिस् । ”

“ मनमा लाग्यो भन्दैम जे पायो त्यहि चाँही नभनिहाल त !मैले तँलाई कैले वेवास्ता गरे? ”

“तैले सधै गरि त राछस् नि । आजसम्म मलाई केही गिफ्ट लयाईदिस् त शहर बाट । उल्टै मैले नम्बर दिदाँ पनि फोन नगर्ने हैन् ।”

“ओ सेट् !” मैले आफ्नो हात टाउकोमा ठोक्काउदै भने, “त्यसमा तेरो फोन नम्बर थियो ? ”

मैले त्यो कागज त हेरेकै थिईन। एकछिनमा हेर्छु भन्दा भन्दै बिर्सेछु । हिजो सुत्दा लगाएको प्यान्ट अहिले शरीरमै थियो। खोल्तिमा हात हालेर छाम्दा पो फेला पर्यो , बिचरा कागज त पानीमा भिजेर धुजा धुजा भएछ । अब त्यसमा आकाँक्षाको फोन नम्बर कसरी खोज्नु ।

मेरो हातमा कागजको टुक्राहरू देखेपछि उसको अनुहार मलिन भयो । मैले उसले दिएको कुरालाई वास्तै नगरी छोडेको थिए । उसलाई फकाउनलाई उसको फोन नम्बर फेरी मागे तर उसले दिन मानिन । भनि “ जस्लाई मेरो बारेमा कुनै मत्तलब छैन् , त्यसलाई म बारम्बार फोन नम्बर दिईरहन सक्दिन्, मन भए आफै खोजेर गर्नु नत्र कसैको फोन कुरेर बस्नि खालकी केटी हैन म ।”

म आकाँक्षालाई फकाउन खोज्दै थिए, त्यहिबेला साईडमा राखेको मेरो मोबाईलमा घन्टी बज्यो । मेरो र आकाँक्षाको नजर एकैचोटी त्यो फोनमा पर्यो । म फोन उठाउनलाई अगाडी मात्र के बढेको थिए हतपत आकाँक्षाले मेरो फोन उठाई ।

“हेल्लो ! को बोल्नु भ’को ?”

( मौनता)

“कस्लाई खोजेको ?”

( मौनता)

“तिमीलाई के चाहियो म जो बोलेपनि । के काम छ आशुतोष सँग ।”

(मौनता)

“काम छैन भने किन फोन गरेकी त बेकारमा अरूलाई  । फोन राख् ।”

आकाँक्षाको अनुहार अमिलिएर कालो निलो भयो, रिसाउदै पनि थिई होला सायद, आँखा पनि रातो रातो भएको थियो । उसले सिधै सोधि “को हो यो रोजिना भन्ने ?”

रोजिनाले पो फोन गरेकि रैछे, मैले मुस्कुराउदै भने, “बहिनि हो, घरबेटी कि छोरी ।”

“बहिनी मात्रै हो की गर्ल फ्रेण्ड पनि ?”

“के रे ? के भनिस् ? फेरी भन त ?”

“ केही होईन, ला तेरो फोन ।” आकाँक्षाले फोन म भएतिर फालिदिई । मैले केही बुझ्नै सकिन । यो केटीलाई एक्कासि यो के भयो । बिहान बिहानै यसलाई कुन भुत चढ्यो यसरी । एक कल फोनको भरमा आकाँक्षाको अनुहारको रङ यसरी उडेको थियो कि म त लगभग डराइसकेको थिए । हिजो हाँसी मजाकमा बुहारी बनाउछु भन्दा एक गाग्री पानी खनाईदिनेले आज यो फोनको बदला कसरी लिन्छे होला, हेर्न बाँकी थियो ।


No comments:

Post a Comment