Friday, August 19, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.


 UNCONDITIONAL LOVE

BY PRADIPDEVKOTA ‘MUSAFIR’

Part 1:

 कुखुरी काँ !

बिहानको चारै बजे घरको ठुलो भाले बास्यो । एउटा भाले बासेको आवाजले छिमेकीको खोरमा भएका अन्य कुखुराका भालेहरू पनि बास्न थाले । भालेहरूको कुखुरी काँ’ले मस्त निदाएको गाँउको निन्द्रा बिथोलिदियो ।

पर टाढा कतै कुकुर भुकेको आवाज पनि सुनिदै थियो । आमाका हातका चुराहरु बजेको सुने । घरको मुल ढोका घर्याक्क खुल्यो । ढोका खुलेसँगै बिहानीको पहिलो चिसो हावा कोठा भित्रसम्म आईपुग्यो । सिरक बाहिर अनुहार निकालेर सुतेको थिए, चिसो हावाले मलाई सिरक भित्र गुटुमुटु पर्न बाध्य बनायो ।

एकै छिनमा भान्साबाट मट्टितेल जलेको गन्ध आयो । आमाले दुई-तिन चोटी खोक्नु भयो । सायद धुँवाको मुस्लो उहाँको फोक्सोसम्म पुग्यो होला । उहाँले खोक्दै फूँ: फूँ: गर्नुभयो र एकछिन पछि आगो भुर्रभुर्र गर्दै बलेको सुने ।

आमाले अगेँनु माथी ठुलो डेक्चि बसाल्नु भयो, लैनु भैसीँ, बाख्राको लागि बिहानको कुढोँ पानी थियो त्यो । त्यसपछि उहाँले चुलो, मझेरीदेखी बाहिर पिँढीसम्म कसेर लगाउनु भयो । गोबर र रातो माटो मुछेर दैलो पोत्नु भयो ।

पुर्वी क्षितिजमा आकाश बिस्तारै खुल्दै गयो र सुन्तला पहेँलो रङको क्यानभासमा परिवर्तन भयो । घर बाहिर मान्छेहरु हिडेँको, बोलेको गुनगुन आवज आइरहेको थियो । अगेँनामा आगो नजिकै चियाको कित्ली बसालेर उहाँ कम्मरमा गाग्री र नुहाएर फेर्दा लगाउने लुगा बोकेर पधेँरो तिर लाग्नु भयो ।

पल्लो खाटमा बा चलमलाउनु भएको थाहा पाँए । सायद उहाँको निन्द्रा खुल्यो होला, उहाँ ऊठ्ने तयारीमा हुनुहुन्थ्यो । उहाँले आङ तानेको, आफ्ना बाक्ला दाह्री मुसारेको, हाई काढेको अनि खाटबाट तल झरेको म सिरक भित्रैबाट चाल पाईरहेको थिए ।

बा’को सानै देखीको बानि हो रे, बिहानको नित्यकर्म सबैभन्दा पहिले गरेपछि मात्र उहाँले बाँकी काम गर्नु हुन्थ्यो । उहाँको हिडाँईको चाल थाहा पाएर गोठको लैनु भैँसि पनि जर्याकजुरूक उठी र आःई आःई गरेर कराउन थालि । खोरका बाख्राहरूलाई बाहिर टाट्नामा सार्नु भयो । कुखुराहरु पनि आफ्नो खोरबाट होहल्ला गर्दै बहिर कुध्न थाले, कोही फट्फटाउन थाले । घरको ठुलो भाले फेरी बास्यो एकफेर । सायद उ मलाई छिटो उठ्न आग्रह गरिरहेको थियो । उसको आग्रहलाई बेवास्था गर्दै म आफ्नो कल्पनाको सागरमा डुबुल्की मार्न थाले

म मिठो सपनाको बिचमा थिए, कसैले मेरो सिरकलाई तानेर भुईमा झारी दियो, अनि उसको चिसो हात मेरो अनुहार घाँटी भरी सलबलाउन थालेपछि म आच्छु ! आच्छु ! गर्दै चिच्याउन थाले । मलाई निन्द्रा बिथोलिएको भन्दा पनि  तातो शरिरमा एक्कासी चिसो लगाईदिएकोले रिस ऊठेको थियो ।

“बिहानको घाम डाँडामाथी तीन हात आईसक्यो, यो भने अझै सुतिराछ, अल्छि कहिँको ।”

धेरै समयपछी आज मैले यो आवाज सुनेको थिए । मेरो बाल्यकाल देखिको परिचित यो आवाज म कसरी भुल्न सक्छु । निन्द्राले मेरो आँखा राम्रो सँग उध्रिसकेको थिएन तर मेरो कानहरू चनाखो भईसकेका थिए । मैले आँकाक्षाको बोलिलाई नचिन्ने कुरै थिएन ।

‘एकछिन सुत्न दे’न प्लिज । कस्तो मिठो सपना देखीरा’थे ।”

“तँ अनि तेरो सपना ? कहिले ठुलो हुन्छस् । अझै पनि बच्चाको जस्तो दिउसै सपना देख्ने बानि गएको छैन है तेरो ।” आकाक्षा मेरो खाटको छेउमा टुसुक्क बसि ।

“बच्चै त हो नि । भर्खर त बिस लागे ।” म आँखा मिच्दै उठे जस्तो गरे । शरीरलाई सजिलो बनाउदै सिरानीलाई भित्तामा आडेस लगाएर बसे । मधुरो उज्यालोमा आकाँक्षाको अनुहार राम्रोसँग देखिएको थिएन । उ तिर फर्किदै भने, “तँ बुढी भईस भनेर अरुलाई पनि त्यस्तै देखेर हुन्छ । खै, मेरो सिरक ले। जाडो भयो मलाई । ”

“के को सिरक फेरी, खुरूक्क नऊठेर । । चाहिने भए आफै उठेर तान ।”यत्रो समयपछि घर आएको, एक चोटी खोज खबर पनि गर्नु छैन् । खौ ! मेरो गिफ्ट ?  आकाँक्षाले आफ्नो खालि हात म तिर बढाई ।

उसको हातमा राखी दिनलाइ मँसँग गिफ्ट सिफ्ट केही पनि थिएन । मलाई उपहार किन्न र अरूलाई दिन खासै आउदैन । तैपनि उसलाई फकाउनलाई भने, “ झोलामा छ, अहिले खाना खाएपछि दिन्छू ।”

उसलाई मेरो बानि राम्रो सँग थाहा थियो । मेरो कुरामा बिस्वास नगरी उ सिधै भन्साकोठा तिर छिरी । मैले परै बाट सुनिरहेको थिए, उ आमालाई गुनासो गर्दै थिई  “अब यस्को बिहे गर्ने बेला भयो आमै, घरमा पनि एउटा बुहारी चाहिएको छ । यसलाई पनि तह लगाउछे, हजुरलाई पनि काममा साथी हुन्छे ।”

यि दुईजनाको एकआपसमा भेट भएपछि मेरो बिहेको कुरा झिकि हाल्छन् । त्यहि भएर मलाई घरमा एकछिन बस्न मनै लाग्दैन । मलाई उनिहरूको कुरा चित्त बुझेन । बल्ल बल्ल वर्ष दिनमा एक चोटी घर आउनुछ, त्यसमाथी बिहेको किचकिच । यो केटीलाई मेरो बिहेको किन यति धेरै चासो लागेको होला ?

भान्साकोठाको ढोकामा उभिदै भने, “तँलाई मेरो त्यस्तै चिन्ता भए, यो घरको बुहारी बनेर आईज न त । अनि सासु बुहारी भएर मेरो जति कुरा काट्नु छ काट्नु । मलाई घरबाट निकाल्ने मन भएपनि दुईजनासँगै मिलेर निकाल्नु । म केही पनि भन्दिन ”

थाहा छैन मेरो मुखबाट कसरी यस्तो शब्द निस्कियो । आकाँक्षा लाजले रातोपिरो भई । आमाले ट्वाल्ल मेरो मुखमा एकोहोरो हेरीरहनु भयो जस्तो कि मैले भन्नै नहुने कुनै गलत कुरा भनेको थिए । मलाई पनि एकछिन पछी महसुस भयो मैले के भनेछु भनेर । बोलेको कुरा फिर्ता गर्न नमिल्ने, आकाँक्षाले के सोचि होला ?

यस्सो नजर उचालेर उसलाई हेरे, उ आफ्नो ठाऊँबाट जर्याक्क जुरुक्क उठी, आमालाई जान्छु पनि नभनि लुसुक्क सिर झूकाएर मेरै छेउवाट बाहिर निस्किई । म त हेरेको हेरै भए । उ रिसाउदै गई की लजाउदै, मैले केही मेसो पाईन । एकैछिनमा मेरो आँखा अगाडीबाट अलप भई । 

No comments:

Post a Comment